कालीलेकलाई सामुदायिक बनाइने

पोखरा २०, मंसिर/कास्की जिल्लाको सुदूरउत्तरी भेगमा अवस्थित कालीलेक जंगललाई सामुदायिक बनाउने प्रक्रिया सुरू भएको छ । स्थानीय उपभोक्ताको पहल तथा जिल्ला वन कार्यालय कास्कीको प्राविधिक सहयोगमा सो जंगललाई सामुदायिक बनाउने प्रक्रिया सुरू भएको हो । अर्मला गाविसका जनताले उपभोग र संरक्षण गर्दै आएको सो जंगलको अहिले सीमाङ्कन गर्ने कार्य भइरहेको जिल्ला वन उपभोक्ता महासंघ कास्कीका उपाध्यक्ष जीतबहादुर बस्नेतले जानकारी दिएका छन् । उनका अनुसार जंगल सीमाङ्कनका लागि वन मन्त्रालयका अधिकृत हरि आचार्यको नेतृत्वमा एक प्राविधिक टोली खटिएको छ । टोलीमा लामाचौर रेञ्जपोष्टका प्रमुख मोहन बस्नेत, वन विज्ञान क्याम्पस पोखराका विद्यार्थी प्रविण श्रेष्ठ तथा स्थानीय उपभोक्ता समितिका सदस्यहरू सहभागी भएका छन् ।
टोलीले जी.पी.एस. प्रणालीका आधारमा जंगलको सीमाङ्कन गर्ने कार्य जारी रहेकाले जंगलको कूल क्षेत्रफल आउन बाँकी रहेको टोली प्रमुख आचार्यले बताए । उनले जंगललाई संरक्षण क्षेत्र र उपभोग क्षेत्र गरी दुई भागमा विभाजन गरी समुदायमा हस्तान्तरण गरिने जानकारी पनि दिए ।  सत्रखर्क कालीलेक सामुदायिक वन नाम दिइएको सो वन उपभोक्ता समितिको अध्यक्षमा दुर्गाबहादुर गुरुङ रहेका छन् ।
गुरुङ जिल्ला कृषि कार्यालय कास्कीका कृषि प्राविधिक अधिकृतसमेत हुन् । उनले वन समुदायमा हस्तान्तरण गर्ने प्रक्रिया पूरा भएपछि कृषि, पशुपालन र जडिबुटीको सम्भाव्य अध्ययन गरिने जानकारी दिएका छन् । घना जंगल रहेको सो क्षेत्रमा चाप, लालीगुराँश, सल्लो, लोकता, लोठसल्लालगायतका बहुमूल्य जडिबुटी रहेका छन् । पर्यटकीय दृष्टिकोणबाट पनि उत्तिकै महत्वपूर्ण मानिने सो क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गर्न आवश्यक रहेको स्थानीयबासीको भनाई छ ।
बलाय, सानो चोकोडाँडा, ठूलो चोकोडाँडा, साइनडाँडा, सब्जेलगायतका स्थानहरू पर्यटकीय र कृषिजन्य उत्पादनका लागि उपयुक्त स्थल मानिन्छन् । चोको डाँडाबाट अन्नपूर्ण हिमश्रृङ्खला र पोखराको दृश्यावोलकन गर्न सकिन्छ । सराङकोटबाट भन्दा चोकोडाँडाबाट देखिने सनराइज अझ राम्रो देखिने स्थानीय यामबहादुर गुरुङले बताए ।

कमेन्टहरु
Loading...