सुरुङ खनेर भाग्ने ३ कैदी जंगलमा भेटिए

३० वैशाख, रोल्पा । जिल्ला कारागारबाट शनिबार राति सुरुङ खनेर भागेका ८ कैदिबन्दी मध्ये तीनजनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा गैंडाको खाग तस्करीमा जेलमा परेका अर्जुन सेन, डाँका मुद्दाका दाङ सैघाका दीपक पुन र जवरजस्ती करणीका रोल्पा जेलवाङका चंखे बिक रहेका छन् । उनीहरुलाई आएतबार राति रोल्पाको माडीचौरको जंगलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अझै फरार हुनेमा डाँका मद्दाका राजु थापा, कृष्णबहादुर वली, बसन्त रोका, जर्वजस्ती करणीका, ध्रुब डाँगी र राजबहादुर वली रहेका छन् । उनीहरु करिब ८ मिटर लामो र डेढ मिटर गोलाइको सुरुङ बनाई जिल्ला कारागार रोल्पाबाट शनिबार मध्यराति भागेका थिए । ११ जना बस्दै आएको कोठामा अन्य ३ जना भने प्रहरीले थाहा पाएपछि भाग्न सकेका थिएनन् ।

कारागारमा सुरक्षार्थ १९ जना प्रहरीलाई खटाइएको थियो । क्षेत्रीय प्रहरी कार्यालयले सुरक्षामा लापर्वाही गरेको भन्दै ६ जना प्रहरीलाई निलम्बन गरेर छानविन सुरु गरेको मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डिआइजी टपेन्द्रध्वज हमालले जानकारी दिनुभएको छ ।

घटनाको छानविनका लागि गृह मन्त्रालय र प्रहरीको तर्फबाट दुई छुट्टा छुट्टै समिति बनेको छ । राप्ती अञ्चल प्रहरी प्रमुख उत्तमबहादुर सिंहको संयोजकत्वमा र क्षेत्रीय प्रशासनका सह प्रशासक बासुदेब दाहालको संयोजकत्वमा दुई समिति गठन गरिएको छ । समितिलाई एक हप्ताभित्र तथ्य बाहिर जिम्मेवारी सुम्पिइएको छ ।

cp. www.onlinekhabar.com

कमेन्टहरु
Loading...