पत्रकारले बनाएको डकुमेन्ट्री हेरेर रोए दर्शक

रेम बिक / पोखरा, २४ बैशाख/ ला ग्राण्डी ईन्टरनेशनल कलेजको सभाहलमा खचाखच भरिएका मानिसहरुको आँखा ओसिला थिए । ठ्याक्कै एक वर्ष अगाडी सेतीमा आएको बेमौसमी बाढीले कलेजका दुई जना विद्यार्थीलाई बाढीमै मिलाएको दिनलाई सम्झेर कलेजले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा उपस्थित कसैको मुहारमा हाँसो थिएन । आफ्नै साथीहरुलाई आँखा अगाडीनै बाढीले बगाएको क्षणलाई सम्झँदै आर्जना श्रेष्ठ र चेतबहादुर थापाका सहपाठीहरु भक्कानिँदै कार्यक्रम संचालन गरिरहेका थिए ।

अचानक आएको बाढी, त्यसले पु¥याएको क्षति र बाढी आउनुको कारणहरुबारे समिक्षा हुँदै गर्दा पत्रकार सागरराज तिमिल्सिनाले सेतीबाढीमै आधारित रहेर बनाएको डकुमेन्ट्री प्रर्दशन भयो । बाढीले पु¥याएको दर्दनाक क्षति विवरण संगै पिडितहरुको आँशु देखाईएको डकुमेन्ट्रीले हलमा उपस्थित सबैको आँखा रसाउन थाले । बाढीमा ज्यान गुमाएका आर्जनाका आमाबाबु भक्कानिए । एक वर्ष अगाडीको त्यो दिनलाई अमिलो मन लिएर सम्झँदै उपस्थित सबैले भने, ‘त्यस्तो कालो दिन फेरी कहिल्यै नआओस्, अनि त्यो दिनमा मृत बनेका सबैले स्वर्गमा बास पाउन् ।’

सेतीमा आएको भिषण बाढीले २८ जनाको ज्यान लिएको थियो । त्यहि बाढीका कारणले अहिलेसम्म ३० भन्दा बढि बेपत्ता छन् । ‘शव भेटिएकाले सरकारबाट केहि राहत पाएपनि बेपत्ताको परिवारले हालसम्म राहत पाउन सकेका छैनन्, त्यसैमाथि धेरैजना घरबारविहिन भएर बसिरहेका छन् ।’ डकुमेन्ट्री प्रदर्शनी पश्चात निर्देशक सागरराज तिमिल्सिनाले भने–‘उनीहरुको समस्याको सम्बोधन होस् भनेर नै मैले यो डकुमेन्ट्री निर्माण गरेको हुँ ।’ बाढी पिडितहरुको पिडालाई सरोकारवालाहरु समक्ष देखाएर उनीहरुलाई राहत दिलाउने आफ्नो उद्देश्य रहेको उनले सुनाए ।

ला ग्राण्डीमा उपस्थित सम्पुर्ण सहभागीहरुले पनि डकुमेन्ट्रीले बाढीको वास्तविक पिडालाई उतारेको बताएका थिए । प्राकृतिक विपत्तीले सेती आसपासका वस्ती र मानिसहरुमा यति ठुलो पिडा दिँदा पनि सरकार भने निरिह बनेर मात्र हेरेको प्रति उनीहरुले आक्रोश समेत व्यक्त गरेका थिए । सरोकारवालाहरुले सेती बाढीका पिडितहरुलाई राहत दिन सके मात्र उनीहरुको मनको घाऊमा मल्हम लाग्ने उनीहरुले टिप्पणी गरे ।

डकुमेन्ट्री प्रदर्शनीको क्रममा भुगोलविद् कृष्ण केसीले सेतीको उपल्लो भाग निकै कमजोर रहेकोले कुनैपनि बेला भिषण बाढी आउन सक्ने बताउँदै यसप्रति पनि सरकारले चासो दिनुपर्नेमा जोड दिए । डकुमेन्ट्रीको विषयमा टिप्पणी गर्र्दै उनले सेती बाढी पिडितको वास्तविक पिडा उतारिएकोले देश विदेशमा प्रदर्शन गरेर पिडितका लागी राहत संकलन अभियान अगाडी बढाउन सकिने बताए ।

कमेन्टहरु
Loading...