प्रचण्डपूत्र प्रकाश दिल्लीको सपिङ कम्प्लेक्समा जागिरे ! तनाव कम गर्न पुस्तकको सहरा

११ भदौ, काठमाडौं । बितेका दुई महिनामा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भन्दा उहाँका छोरा प्रकाशको चर्चा बढी भयो । अहिले पनि प्रकाश कहाँ के गर्दै होलान् भन्ने धेरैलाई चासो र खुल्दुली छ । कोही भन्छन् -’केटी लिएर बेपत्ता भएका प्रकाश भारतमै लुकिछिपी बसेका छन्, अब मुख देखाउन यता र्फकंदैनन् ।’ कोही भन्छन् -’हैन नेपाल आइसके, कहिले भक्तपुर र कहिले पूर्वी नेपालका ठाउँमा साथीहरुको घरमा लुकिछिपी बसिरहेका छन् ।’ आमा मार्फत कुरा मिलाएर लाजिम्पाटस्थित घरमा आउन लागेको चर्चा पनि कतिले गरिरहेका छन् । तर दुई महिनाअघि बिना मगरका साथ बेपत्ता भएका प्रकाश अहिले पनि भारतमै छन् ।

असार २० गतेदेखि आफ्नो फेसबुक पेज डिएक्टीभ गरेर बेपत्ता भएका प्रकाश हिजोआज कहिलेकाहीं फेसबुक खोल्छन् । त्योभन्दा पहिले उनी नियमित रुपमा फेसबुक चलाउँथे । फेसबुकमा लत बसेपछि सजिलै छाड्न पनि सकिँदैन । त्यसैले पछिल्ला दिनहरुमा उनी फेरि फेसबुकमा देखिन थालेका छन् । तर फेसबुक खोलेर केही लेख्ने बित्तिकै समर्थन र सहानुभूति भन्दा बिरोध र गाली गर्नेहरुको संख्या बढेपछि उनी तुरुन्तै फेसबुक डिएक्टीभ गर्छन् । फेसबुक चलाउने र डिएक्टीभ गर्ने कामलाई उनले निरन्तरता दिइरहेका छन् ।

फेसबुकमा आफू कहाँ छु भनेर त उनले केही बताएका छैनन् । मात्र निराशा र गुनासाको पीडा पोख्ने गरेका छन् । आइतबार मात्र उनले आफ्नो फेसबुक पेजमा परिवारसित भेट्न खोजेको, तर समाज र संस्कारले बाधा पुर्याएको उल्लेख गरेका थिए । ‘आफ्नो छोराछोरीले जे जस्तो गरेनी बाबुआमाको अघि सधैं साना नै हुन्छन्, छोराछोरीले बाबुआमालाई भेट्न नपाउने यो कस्तो दुनियाँ, कस्तो बिडम्बना ! राजनीति भन्ने बित्तिकै परिवार हुँदैन र ? माया भन्ने चिज हुन्न ? यो संस्कार कसले बनायो ?’ फेसबुकमा उनले उल्लेख गरेका थिए । तर उनको फेसबुकको यो स्टाटसमा कमेन्ट गर्नेहरुले उल्टै उनको खोइरो खनेका छन् । त्यसपछि फेसबुक डिएक्टीभ गरेर उनी फेरि पाखा लागे । सोमबार फेरि उनी फेसबुकमा झुल्किए । फेसबुक मार्फत आफ्ना साथीहरुसँग कुराकानी गरे । तर स्टाटस लेखेनन् ।

बिहान बेलुका पुस्तक, दिउँसो जागीर

प्रकाशले आफ्ना नजिकका साथीहरुसँग आफू अहिले दिल्लीमा कोठा लिएर बसेको र भर्खरै मात्र सपिङ कम्पलेक्समा काम गर्न थालेको बताएका छन् । ‘सपिङ कम्पलेक्सको काउन्टरमा काम गर्छु’ उनले साथीहरुलाई भनेका छन् । तर बिनाको बारेमा उनले केही बताएका छैनन् ।

आफ्नो कारणले प्रचण्ड र पार्टीलाई नराम्रो भएको भन्दै उनले आत्मालोचना पनि गरेका छन् । ‘बुबालाई अप्ठेरो होला भनेर मैले फोन पनि गरेको छैन’ उनले भनेका छन् । बुबा, आमा, घरपरिवार र साथीभाइलाई आफूले धेरै ‘मिस’ गरेको उनको भनाई छ । तनाव कम गर्न पुस्तक पढ्ने गरेको प्रकाशले बताएका छन् । साथीहरुसितको कुराकानीमा उनले भनेका छन् -’दार्शनिक र विश्व प्रसिद्ध व्यक्तिहरुको बारेमा लेखिएका पुस्तक पढ्ने गरेको छु ।’

पार्टीले अनुशासन कार्वाही गरेपनि आफू राजनीतिमै लाग्ने उनको चाहना छ । कार्वाहीको म्याद सकिने बित्तिकै फेरि पार्टीमा सकृय भएर लाग्ने प्रकाशले बताएका छन् । उनका नजिकका साथीहरुले दिएको जानकारी अनुसार प्रकाशले तत्काल नेपाल नर्फकने उल्लेख गरेका छन् । तर परिवारसित छिटै भेट्न पाए हुन्थ्यो भन्ने उनको चाहना चाहिं छ ।

अर्काकी श्रीमती लिएर असार २० देखि बेपत्ता भए लगत्तै प्रकाशलाई पार्टीले कार्वाही गरेको छ । उनी सार्वजनिक भएमा बहुविवाहको अभियोगमा पक्राउ समेत पर्न सक्छन् । घरमा भएकी श्रीमती र छोरोलाई छाडेर अर्काकी श्रीमती लिएर भागेको भन्दै उनलाई समाजले समेत घृणा गर्छ । त्यसैले प्रकाशलाई अहिले सार्वजनिक हुन डर छ । तर मान्छेको मन नै हो । उनलाई पनि आफ्नो परिवार, साथीभाइ र आफन्तको यादले त पक्कै सताउँदो हो ।

साभार अनलाइन खबर

कमेन्टहरु
Loading...