बलात्कारको जाहेरी दिन जाँदा ‘असईबाटै बलात्कार’

काठमाडौं, वैशाख १६ (सेतोपाटी)– नाताले देवर पर्ने एक व्यक्तिले बलात्कार गरेको जाहेरी दिएर अनुसन्धानका लागि झिकाइएकी महिलाले आफूमाथि प्रहरीले फेरि बलात्कार गरेको आरोप लगाएकी छन् । ताप्लेजुङको दोखु–७ चारपाटेकी अन्दाजी ४० वर्षीया ती महिला उनकै देवर नाता पर्ने अन्दाजी ३५ वर्षका कान्छा भनिने भुपेन्द्रले बलात्कार गरेको भन्ने जाहेरी दिन आइतबार साँझ सुकेटारस्थित प्रहरी कार्यालय पुगेकी थिइन् । उनलाई त्यहाँका असईले राति साढे १० बजे जबरजस्ती गरेको ती महिलाले बताएकी छन् । उनले यसको जाहेरी प्रहरीलाई दिइसकेकी छन् ।

अहिले ताप्लेजुङ जिल्ला प्रहरीले घटनाका सबै अभियुक्तलाई पक्राउ गरी अनुुसन्धान सुरु गरेको छ । ताप्लेजुङ प्रहरीका डिएसपी गोविन्दप्रसाद आचार्यले अहिले दुवै आरोपी र पीडितलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जानकारी टेलिफोनमा सेतोपाटीलाई गराए । ‘अहिले तीनैजनालाई नियन्त्रणमा लिएका छौं, अनुसन्धानको क्रममा छ, अनुसन्धानकै क्रममा भएकाले हामीले अहिले ती असईलाई बर्खास्त गरेका छैनौं,’ आचार्यले ताप्लेजुङबाट टेलिफोनमा भने, ‘अनुसन्धानले असईलाई दोषी देखायो भने त्यसअनुसार कारबाही गर्न कन्जुस्याइँ गर्ने छैनौं ।

पीडित महिलाको जबरजस्ती करणी भएको हो कि होइन भन्ने थाहा पाउन परीक्षणमा पठाएको जानकारीसमेत डिएसपी आचार्यले दिए । उनका अनुसार झुटा मुद्दामा फसाएर चरित्र हत्या गर्ने प्रयास भएको भए जाहेरीवालालाई पनि कानुनअनुसार सजाय हुनसक्ने छ । ‘अनुसन्धान र स्वास्थ्य परीक्षणले जे देखाउँछ, त्यहीअनुसार प्रक्रिया अघि बढ्छ,’ उनले भने । नातामा देवर पर्नेले जबर्जस्ती गरेको विषयमा अनुसन्धानका लागि सुकेटारस्थित प्रहरी कार्यालयमा बोलाएर असईले पुनः जबर्जस्ती गरेको आरोप ती महिलाको छ । ‘राति सुतेको समयमा असईले जबरजस्ती करणी गरेको भन्ने ती महिलाको आरोप छ,’ डिएसपी आचार्यले भने ।

प्रहरीले सुकेटार विमानस्थलको सुरक्षार्थ खटिएका प्रहरी बस्ने ब्यारेकमा पीडित महिला र पीडक दुवैलाई राखेको थियो । राति साढे १० बजे असईले जबरजस्ती गरेको भन्ने जाहेरी ती महिलाले दिएपछि अनुसन्धानका लागि सबैलाई सदरमुकाम झिकाइएको जानकारी आचार्यले दिए । cp. सेतोपाटी. com

कमेन्टहरु
Loading...