पोखरामा पत्रकार महासंघको क्षेत्रीय तालिम केन्द्र

पोखरा, ७ बैशाख/नेपाल पत्रकार महासंघको क्षेत्रीय तालिम केन्द्र पोखरामा सञ्चालन हुने भएको छ । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रीविनोद प्रतीकको अधयक्षतामा शनिवार बसेको नियमित बैठकले महासंघको पश्चिमाञ्चल क्षेत्रीय तालिम केन्द्र पोखरामा सञ्चालन गर्ने निर्णय गरेको हो । क्षेत्रीय तालिम केन्द्र सञ्चालनका लागि भौतिक पूर्वाधार सम्पन्न भएकाले पोखरामा केन्द्र स्थापना गर्न उपयुक्त भएको अध्यक्ष प्रतीकले बताउनुभयो ।

क्षेत्रीय तालिम केन्द्र सञ्चालन गर्नका लागि हाल नेपाल पत्रकार महासंघको निर्माणाधिन भवनमा एउटा सभाहल, तीनवटा सेमिनार गृह सम्पन्न भईसकेको छ । साथै अतिथी, आवास गृह पनि भवनमा रहने शाखाका सचिव त्रिभुवन पौडेले बताउनुभयो । क्षेत्रीनय तालिम केन्द्र सञ्चालनका लागि केन्द्रीय समिति समक्ष भौतिक पूर्वाधारको जानकारी सहितको प्रस्ताव र अनुरोध पत्र पठाउने निर्णय भएको छ । केन्द्रीय समितिबाट स्विकृत हुनासाथ विभिन्न दातृ निकायसँग समन्वय गरि तालिम केन्द्र सञ्चालन गरिने अध्यक्ष प्रतीकले बताउनुभयो ।

बैठकले नेपाल पत्रकार महासंघ कास्कीको भवन निर्माणका लागि लेखनाथ नगरपालिकाले विनियोजन गरेको एक लाख पच्चिस हजार रुपैयाँ निकासाका लागि माग गर्ने निर्णय गरिएको छ । यसैगरी स्वर्गीय दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार छनौट समितिको पुर्नगठन गर्ने निर्णय गरेको छ । छनौट समितिमा वरिष्ठ पत्रकार माधव शर्मा, कुशुमकेशव पराजुली र कृष्णप्रसाद बाँस्तोला रहनुभएको छ । समितिमा महासंघ कास्कीका अध्यक्ष र सचिव पदेन सदस्य रहने प्रावधान छ ।

बैठकले नेपाल पत्रकार महासंघको नयाँ सदस्यता आवेदनको लागि बैशाख मसान्तभित्र म्याद थप्ने र नविकरण नगरेकालाई नविकरण गर्न आव्हान समेत गर्ने निर्णय गरेको छ । यसैगरी नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहकार नारायण कार्की अखिल नेपाल फुटवल संघ कास्कीद्धारा प्रदान गरिएको खेलकुद पत्रकारीता पुरस्कार तथा महासंघका कार्यसमिति सदस्य हुमबहादुर तमु नेपाल आदिवासी जनजाति पत्रकार संघ अनिज कास्कीको चौथो अधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित हुनुभएकोमा बैठकले हार्दिक बधाई ज्ञापन गरेको छ ।

कमेन्टहरु
Loading...