चिनियाँ राष्ट्रपतिको नाम के हो ?

६ वैशाख, काठमाडौ । एमाओवादी अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपतिलाई भेटेको खबर नेपाली मिडियामा महत्वका साथ आयो । तर, वर्तमान चिनियाँ राष्ट्रपतिको सही नाम के हो ? यसबारे नेपालमा कुनै पनि मिडियाले सही उच्चारण गरेका छैनन् । चिनियाँ राष्ट्रपतिको सही नाम ‘सि जिनपिङ’ नभएर ‘सि चिनफिङ’ हो । तर, नेपाली मिडियाहरुले अहिलेसम्म चिनियाँ राष्ट्रपतिको नाम शुद्धसँग लेख्न र भन्न सकेका छैनन् ।xi-jinpin

त्यस्तै प्रचण्डले उपराष्ट्रपति लिसँग पनि भेट गरेका थिए र त्यसबारे पनि नेपाली मिडियामा समाचार आयो, जसमा उपराष्ट्रपतिको नाम लि युनचाओ उल्लेख गरियो जबकि चिनियाँ उपराष्ट्रपतिको सही नाम हो- लि युआन छाओ ।

नयाँ चिनियाँ प्रधानमन्त्री नियुक्त भएपछि नेपाली मिडियामा कसैले ‘लि केकियाङ’ प्रधानमन्त्री बने भनेर लेखे त कसैले ‘लि खछ्याङ’ चीनका प्रधानमन्त्री भनेर लेखे । तर, चीनका प्रधानमन्त्री हुन्- लि खछियाङ ।

प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले प्रचण्ड र चिनियाँ राष्ट्रपतिवीचको भेटबारे पठाएको इमेलमा वीच-वीचमा ‘पिङले बताउनुभयो’ लेखिएको थियो । यसमा दाहालले बताउनुभयो भनेजस्तै चिनियाँ राष्ट्रपतिको थर उल्लेख गर्ने प्रयास खड्काले गर्नुभएको हो । तर पिङ या फिङ चिनियाँ राष्ट्रपतिको थर होइन । चिनियाँ राष्ट्रपतिको थर सि हो । त्यस्तै चिनियाँ प्रधानमन्त्री र उपराष्ट्रपति दुबैको थर लि हो । विश्वका शक्तिशाली चिनियाँ राष्ट्रपतिको नाम चिनफिङ हो र थर चाँहि सि । चिनियाँ नामको गठनबारे सामान्य ज्ञानसम्म नभएकाले प्रचण्डका स्वकीय सचिवसमेत नाममा अल्मलिएका हुन् ।

चिनियाँहरुका विषयमा समाचार प्रकाशित गर्दा चिनियाँ नामहरु भाषाकै समस्याका कारण गलत लेखिने समस्या नेपाली मिडियामा रहेको छ । जस्तो कि कसैले चिनियाँ राष्ट्रपतिको नाम सि चिनफिङ लेख्यो भने अशुद्ध मान्नुपर्ने स्थिति छ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...