उद्यमशील बन्न विचरा र योजना आवश्यक

पोखरा, ३ वैशाख/पोखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुद्वारा स्थापित ‘इन्टरप्रेनियर्स क्लव अफ पोखरा’ ले उद्यमशीलता सम्बन्धी दुईदिने गोष्ठी सम्पन्न गरेको छ । ‘इन्टरडिसिप्लिनरी इन इन्टरप्रेनियरसिप’ विषयक गोष्ठी सोमबार र मंगलबार पोखरामा सम्पन्न भएको हो । युवा विद्यार्थीहरुलाई उद्यमशील बन्न प्रोत्साहित गर्ने उद्देश्यले आयोजित गोष्ठीमा पोखरा विश्वविद्यालय, केन्द्रीय क्याम्पस र पोखरा कलेज अफ म्यानेजमेन्टमा अध्ययनरत करिब २ सय विद्यार्थीको सहभागिता रहेको थियो । गोष्ठीमा नेपाल जेसिजका अध्यक्ष भोलेश्वर दुलालले उद्यमी बन्न आफ्नो वृत्ती विकास, परिवार र देशलाई संगसंगै लिएर जान सक्नुपर्ने बताए । उनले बास्तुशास्त्रमा पनि विशेष ध्यान दिएर योजना बनाए मात्रै सफल उद्यमी बन्न सकिने धारणा व्यक्त गरे ।

त्यसै गरि म्यागासेसे पुरस्कार विजेता डा.महाविर पुनले कुनै नयाँ कामको थालनी गर्न विचार र योजना नै प्रमुख हुने बताए । उनले आफुसँग नयाँ विचार भए काम पैसाकै कारण नरोकिने उनको भनाई थियो । नयाँ काम सुरु गर्दा ‘गर या मर’ को स्थीति पनि आइपर्नसक्ने बताउदै डा.पुनले त्यस्तो अवस्थामा अन्यले वेवास्ता गरेपनि निरन्तर लागिपरे एकदिन अवश्य सफल हुने ठोकुवा गरे ।

उनले नेपालमा आयातलाई निरुत्साहित गरी निर्यात बढाउन सके मुलुक विकसित हुनेमा जोड दिए । त्यसका लागि आफुले मुलुकभित्रै आम्दानिमुलक कार्यहरु जस्तै, पर्यटन मार्गको विकास, चौंरीपालन, नेपाली कागज उत्पादन र नयाँ प्रकारको रेष्टुरेण्ट सञ्चालन गरिरहेको पुनले बताए । कार्यक्रमका संयोजक लोकेन्द्र पुनले उद्यमी बन्न चाहने विद्यार्थीहरुका लागि गोष्ठी निकै फलदायी भएको बताए । कार्यक्रम शक्ति पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...