फेवा महोत्सव भव्य रुपमा सम्पन्न

पोखरा, ३ वैशाख ः गत चैत दुई गतेदेखि पोखराको वसुन्धरा पार्कमा सुरु भएको दशौं फेवा नव वर्ष महोत्सव २०७० सोमवार सम्पन्न भएको छ । पर्यटन, संस्कृति र खानालाई मुख्य केन्द्रमा राखी पश्चिमाञ्चल होटल संघ पोखराले यो महोत्सव आयोजना गरेको थियो । महोत्सवमा आगन्तुकहरुले उत्साहजनक रुपमा सहभागिता जनाएको र महोत्सव भव्य रुपमा समपन्न भएको संघका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जानकारी दिनुभयो । समापनका अवसरमा कुनै औपचारिक कार्यक्रम भने आयोजना गरिएन ।महोत्सवमा डुंगा दौड, पर्यटक दौड, लोक दोहोरीका कार्यक्रम, नविन के भट्टराई, मनोज गजुरेल, कोमल वली, स्थानीय कलाकार आदिको प्रस्तुती तथा आतिसवाजी र नेपाल टेलिभिजनबाट लाइभ जस्ता आकर्षणहरु समेटिएको थियो । महोत्सवका अवसरमा पोखरा आन्तरिक पर्यटकले भरिभराउ भएको र होटेल नपाएर कतिपय पाहुनाहरुलाई घरघरमा व्यवसायीले सुताउनुपर्ने अवस्था आएको संघका निवर्तमान अध्यक्ष विप्लव पौडेलले जानकारी दिनुभयो ।

महोत्सवका अवसरमा संघले आफ्ना सदस्यका होटलहरुमा खानामा १० प्रतिशत र बसाईमा ३० प्रतिशत छुट प्रदान गरेका थिए । संघले मुख्य गरी फेवा तालको संरक्षणलाई विशेष जोड दिएर महोत्सव आयोजना गरेको र त्यसका लागि सचेतना फैलाउने मामलामा समेत महोत्सव सफल भएको महोत्सवका संयोजक विकल तुलाचनले जानकारी दिनुभयो । महोत्सवमा १५ वटा खानाका स्टल र ४५ वटा अन्य विभिन्न खालका पर्यटन, कृषि, संस्कृति एवं व्यापारिक स्टलहरु समेटिएको थियो ।

सबै स्टलहरुमा दर्शकको उत्तिकै भीड लागेको जानकारी दिंदै महोत्सवले नेपाली संस्कृतिको संरक्षणको पाटोमा समेत योगदान पु¥याएको संघका प्रथम उपाध्यक्ष भरतराज पराजुलीले जानकारी दिनुभयो । महोत्सवले पोखरामा बढी भन्दा बढी पर्यटक भित्र्याउन र पोखरा तथा वरपरको क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुगेको संघका महासचिव लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । पर्यटक दौड र डुंगा दौड जस्ता कार्यक्रम भव्य रुपमा सफल हुँदा पोखराप्रति देशविदेशमा सकारात्मक सन्देश प्रवाह भएको संघका सचिव गणेशराज पहारीले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...