‘दारु’ खाने पुरुष र ‘मेकअप’ गर्ने महिला बढे

३० चैत, काठमाडौं । नेपाल कृषि प्रधान मुलुक भए पनि अत्यावश्यक खाने कुरासमेत बाहिरी देशसँग निर्भर हुने क्रम बढेको छ । यसमा पनि पुरुषहरुले पिउने रक्सी र महिलाले प्रयोग गर्ने कस्मेटिक समान नेपाल भित्रिने क्रम बढेको छ । नेपालको खाद्य वस्तुको आयात उच्च दरमा बृद्धि भएको तथ्यांकहरुले देखाएका छन् । अन्य उत्पादनका साथै खानेकुरासमेत बाहिरी देशसँग निर्भर हुन थालेपछि यसले परनिर्भरतालाई अरु बढेको छ ।

चालु आर्थिक वर्षको फागुन महिनासम्म खाद्यन्नको आयात १३ अर्ब ३८ करोड २० लाख रुपैयाँ ९ हजार रुपैयाँ पुगेको छ । गत वर्ष १३ अर्ब ४१ करोड ३३ लाख ६३ हजार रुपैयाँ बराबरको खाद्यन्न आयात भएको थियो । यसवर्ष भने ८ महिनामै अघिल्लो वर्षको रेकर्ड तोडिएको छ ।list

रक्सी र कस्मेटिकमा बढ्ता ध्यान

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टिईपीसी) को तथ्याङक अनुसार फागुन महिनासम्ममा अल्कोहल र कस्मेटिक वस्तुको आयात हृवात्तै बढेको छ । गत आर्थिक वर्षको फागुन महिनासम्ममा ८३ करोडको अल्कोहल नेपाल भित्रिएकोमा यसवर्षको समीक्षा अवधिमा मात्रै १ अर्ब १८ करोड रुपैयाँको अल्कोहल आयात भएको छ । त्यस्तै समीक्षा अवधिमा कस्मेटिक समानको आयात २ अर्ब ४१ करोड रुपैयाँ बराबरको भएको छ । गत वर्षको सोही अवधिमा कस्मेटिक सामानको आयात १ अर्ब ८९ करोड रुपैयाँ बराबरको भएको थियो ।

समीक्षा अवधिमा सुनचाँदीको आयात २३ दशमलव ४ प्रतिशतले बृद्धि भएर २३ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, शक्तिबर्द्धक पेय पदार्थको आयात गत आवको सोही अवधिमा ३९ करोड रुपैयाँ बराबर भएकोमा समीक्षा अवधिमा ४० दशमलव ८ प्रतिशतले आयात बढेर ५५ करोड रुपैयाँ पुगेको छ । टोवाकोको आयात पनि समिक्षा अवधिमा ७ प्रतिशतले बढेर १ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । अन्य वस्तुहरुको आयातमा पनि उच्चदरले बृद्धि भएको छ । टिईपीसीको तथ्याङ्कअनुसार हाल १ रुपैयाँको वस्तु निर्यात गर्दा ७.८ रुपैयाँको आयात भईरहेको छ । गत आवको सोही अवधिमा यस्तो दर १ : ६.४ रहेको थियो । पाश्चात्य जीवनशैलीबाट प्रभावित हुँदै गएका नेपालीहरुले विदेशी वस्तुहरुको प्रयोगलाई बढाएपछि व्यापार घाटा बढ्दै गएको हो ।

टिइपीसीका अनुसार चालु आर्थिक वर्षको प्रथम आठ महिनासम्ममा ४ खर्ब ४१ अर्ब ९ करोड रुपैयाँ बराबरको नेपालको कुल वैदेशिक व्यापार भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१ दशमलव २ प्रतिशतले बढि हो । समीक्षा अवधिमा ५० अर्ब २२ करोड रुपैयाँ बराबरको नेपाली वस्तु निर्यात भएको छ भने ३ अर्ब ९० अर्ब ८७ करोड रुपैयाँ बराबरको विदेशी वस्तु आयात भएको छ । गत वर्ष नेपालबाट ७४ अर्ब बराबरको कुल वस्तु निर्यात भएकोमा यस वर्ष सोही बराबरको पनि वस्तु निर्यात गर्न नसकिने नेपाल सरकारका सचिव कृष्णहरि बाँस्कोटाले बताउँदै आउनुभएको छ । नेपालले निर्यातजन्य वस्तुहरुको पहिचान गरी त्यसको बृहत उत्पादन, प्रचार-प्रसार तथा निर्यात प्रबर्द्धन गर्न नसक्दा व्यापार घाटा बढ्दै गएको विशेषज्ञहरुको भनाइ छ ।

केही वर्ष अगाडि नेपालबाट उनी गलैंचा र पश्मिनाको निकासी वृहतमात्रामा हुने गरे पनि अहिले त्यो स्वात्तै घटेको छ । त्यसपछि अन्य निकासीजन्य वस्तुहरुको न त पहिचान हुन सकेको छ न त पहिचान गर्ने कष्ट नै गर्न सकिएको छ । सिमेन्टमा भने नेपालको परनिर्भरतामा कमी देखिएको छ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...