नाटकका लागी जुटे पोखरेली युवा

पोखरा, २८ चैत/पोखरामा नाटक मञ्चन हुन छोडेको धेरै भयो । नाटकसंग सम्बन्धित व्यक्तिहरु पनि अहिले नाटकको बारेमा त्यति कुरा गर्दैनन्, मञ्चनको त कुरै छोडौँ । पुराना नाट्यकर्मीहरु सुस्ताएपछि पोखरामा नाटकको सरगर्मी बढाउने उद्देश्य लिएर केहि युवाहरु जुटेका छन् । पोखरामा व्यवसायिक नाटकको विकासका लागी भन्दै उनीहरु संगठित भएका हुन् । पोखरामा नाटक मञ्चनको लागी वातावरण बनाउनका लागी कपिल शर्मा ‘संजोग’को संयोजकत्वमा ९ सदस्यीय कार्यसमिति गठन भएको छ । कार्यसमितिको सचिवमा सौगात ‘संघर्ष’ र कोषाध्यक्षमा सरला लामिछाने ‘सरु’ चयन भएका छन् । त्यस्तै कार्यसमितिको सदस्यहरुमा रेम बिक, सुमन लम्साल, ईन्दु श्रेष्ठ, मनोज घर्तीमगर, पवित्रा भण्डारी ‘पारु’ र उदिपराज ढुंगाना ‘अनुभव’ चयन भएका छन् ।

नयाँ वर्षको शुरुवातसंगै पोखरामा एउटा नाटक मञ्चन गर्ने नवगठित कार्यसमितिले जानकारी दिएको छ । नाटक मञ्चनका लागी बैशाख ४ गतेदेखि रिहर्सल शुरु हुने अध्यक्ष कपिल शर्मा संजोगले जानकारी दिए । ‘पहिलो चरणमा हामीले साधारण खालको नाटक मञ्चन गर्ने र पोखरेलीलाई नाटकतर्फ आकर्षित गर्ने लक्ष्य राखेका छौँ ।’ शर्माले भने–‘त्यसपछि अन्तराष्ट्रिय गुणस्तरका नाटकहरु हामीले पोखरामा देखाउँदै जानेछौँ ।’ पोखरामा नाट्यकर्मलाई निरन्तरता दिनका लागी यस्तो खाले गतिविधि गर्न लागेको उनले जानकारी दिए ।

युथ क्रियशन थियटर नाम दिएर नाटकको लागी संगठित भएको कार्यसमितिले पोखराका पुराना नाट्यकर्मीहरुलाई समेत साथमा लिएर अगाडी बढ्ने जनाएको छ । पुराना नाट्यकर्मीहरुको अनुभव र मार्गनिर्देशनमा युवा जोशजाँगरलाई अगाडी बढाउँदै लैजाने थियटरका पदाधिकारीहरुले प्रतिबद्धता जनाएका छन् ।

कमेन्टहरु
Loading...