सेमिफाइनल पुगेसँगै नेपाल ट्वान्टी-२० विश्वकप छनोटमा

१८ चैत, काठमाडौं । नेपाल एसीसी ट्वान्टी-२० कप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई १ सय २१ रनले पराजित गरेसँगै नेपाल समूह ए को उपविजेताका रुपमा अन्तिम चारमा प्रवेश गर्दै, नोभेम्बरमा हुने ट्वान्टी-२० विश्वकप छनोट खेलका लागि छनोट भएको छ । अफगानिस्तान र युएई बाहेकका प्रतियोगिताको शीर्ष दुईमा दुई टोली विश्वकप छनोट खेल्न पाएकाले सेमिफाइनलमा पुगेसँगै नेपाल र हङकङको विश्वकप छनोटको टिकट पक्का भएको हो । news-final
नेपालले सेमिफाइनल युएईसँग खेल्ने लगभग पक्का जस्तो छ । युएई कमजोर टोली बहराइनसँग हारे मात्र नेपालले अफगानिस्तानसँग खेल्नु पर्ने हुनसक्छ ।
खेलपछि प्रशिक्षक पुबुद्धु नशानायकले सोचेअनुसार नै जित हात पारेको बताए । सागर पुनले राम्रो खेलेको भन्दै उनले समग्रमा सबैले राम्रो खेलेको प्रतिक्रिया दिए । यूएईसँगको सेमिफाइनल भेट नेपालका लागि अबसर रहेको भन्दै उनले भने-’यूएईसँग खेल्न हामी ब्यग्र छौं ।’ कप्तान पारस खड्काले पनि आजको खेलप्रति सन्तुष्टी जनाए ।
नेपालले प्रस्तुत गरेको २ सय ११ रनको लक्ष्य पछ्याएको सिंगापुर १५ दशमदव १ ओभरमा ८९ रनमा अल आउट भयो र नेपाल १ सय २१ रनले विजयी भयो । यो ट्वान्टी-२० क्रिकेटमा नेपालले हात पारेको सबैभन्दा फराकिलो जित हो ।
उसलाई सस्तैमा समेट्ने क्रममा बसन्त रेग्मीले १७ रन दिएर ३ विकेट लिए भने शक्ति गौचनले २ तथा कप्तान पारस खड्का, चन्द्र साउद, सागर पुन र पृथु बास्कोटाले समान १-१ विकेट लिए ।
यसअघि त्रिबि क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ थालेको नेपालले २० ओभरमा ५ विकटको क्षतिमा २ सय १० रन बनायो । यो जारी प्रतियोगिताकै र ट्वान्टी-२० क्रिकेटमा नेपालले बनाएको ठूलो स्कोर हो ।
बिनोदको अर्धसतक
नेपालका लागि विनोद भण्डारीले अर्धशतक बनाए । ३४ बलको सामना गरेका उनले ४ छक्का र ३ चौका हाने । यस्तै कप्तान पारस खड्काले ४४ रन बनाए भने प्रदीप ऐरी र ज्ञानेन्द मल्लले समान ३०/३० रन बनाए । निकै आक्रामक व्याटिङ गरेका उपकप्तान ज्ञानेन्द्रले १० बलमा ४ छक्का र १ चौकाको मदतमा ३० रन बनाएका हुन् ।
यस्तै सरद भेसवाकरले ९ बलमा ३ छक्काको मद्दतमा २६ रन बनाए । पृथु बास्कोटा ९ रनमा अविजित रहँदा सुवास खकुरेलले ५ रन जोडे । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...