एसीसी टी-२० क्रिकेटमा नेपाल हङकङसँग ६ विकेटले पराजित

१४ चैत,  काठमाडौं ।  एसीसी ट्वान्टी-२० कप क्रिकेटमा नेपालले पहिलो हार व्यहोरेको छ । बुधबार भएको खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको हो । व्याटिङ र मेन स्पीनरहरु चल्न नसक्दा नेपालले हार स्वीकार गर्नु परेको पूर्व क्रिकेटर एवं अनलाइनखबरका गेष्ट कमेन्टेटर विनोद दासले बताए । हारसँगै सेमिफाइनल प्रवेशका लागि नेपालले बाँकी खेल जित्ने पर्ने भएको छ । अब नेपालले शनिबार मलेशियाविरुद्ध खेल्नेछ । खेलमा नेपालले आफ्नो व्याटिङ र बलिङ दुबै सुधार्नु पर्ने विनादको सुझाव छ ।

news-1

हङकङको भने क्याप्टेन बाहेक सबैले राम्रै प्रदर्शन गरेका थिए । नेपाललाई हराएसँगै लगातार २ खेल जितेको हङकङको भने सेमिफाइनल प्रवेशको सम्भावना बलियो भएको छ । नेपालले प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य हङकङले १७ औं ओभरमा मात्र ४ विकेटको क्षतिमा भेट्टायो । उसका लागि निजाकात खानले सर्वाधिक अविजित ४२ रन बनाए । नेपालका बसन्त रेग्मीले ३ तथा शक्ति गौचनले १ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले व्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३८ रन बनाए । प्रदीप ऐरीले २१, विनोद भण्डारीले १५ र शक्ति गौचनले ११ रन बनाए । अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । मंजित श्रेष्ठले ७, सुवास खकुरेलले ६, सरद भेसवाकर र बसन्त रेग्मीले समान ५-५ रन बनाए । कप्तान पारस खड्काले ४ रन जोडे ।

खेलपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले ब्याटिङ चल्न नसक्दा पराजय भोग्नु परेको वताए । उनले भने-’ट्वान्टी ट्वान्टी क्रिकेटमा बलिङले मात्रै जित सम्भव हुँदैन । त्यसैले बलिङ र ब्याटिङ दुबै चल्नु पर्छ तर आज त्यो हुन सकेन ।’ खड्काले अझै दुई खेल खेल्न बाँकी भएकाले पनि सेमिफाइलन प्रवेशको सम्भावन जिवितै रहेको वताए । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...