प्रचण्डसँग मधेसी नेताले मागे ७५ सीट

१४ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीका मधेसी केन्द्रीय सदस्यहरुले ३ सय ९९ सदस्यीय केन्द्रीय समितिमा पदाधिकारीसहित घटीमा ७५ सीटमा मधेसी नेताहरुलाई ल्याउन पार्टी अध्यक्ष प्रचण्डलाई दबाव दिएका छन् । केन्द्रमा नपरेको भन्दै थप ४९ जनाको मधेसी नेताले तयार पारेको सूचि अनलाइनखबरले फेला पारेको छ ।

prachanda

तीन दिनअघि पेरिसडाँडामा सम्पन्न बैठकले १ सय ५१ पूर्ण र २ सय ४८ बैकल्पिक गरी ३ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको हो । सो जम्बो कमिटीमा महाधिवेशनले चुनेका ६ जना र महाधिवेशन आयोजक समितिमा २ सय ४० भित्र परेका २०/२२ जना मधेसीलाई समेटिएको छ । तर, जनसंख्याको आधा हिस्सा ओगट्ने मधेसबाट थप ४९ जनालाई केन्द्रीय समितिमा थप्न मधेसी नेताहरुले प्रचण्डलाई दबाव दिएका हुन् ।मधेसी नेता रामरिझन यादवको थापागाउँस्थित डेरामा दालभात, कुखुराको मासु र डिऊ खाँदै आयोजना गरिएको बैठकले मधेसमा कम्तिमा ७५ जना केन्द्रीय सदस्य र एकजना पदाधिकारी माग गर्ने निर्णय गरेको हो । एमालेबाट आउन लागेका रामचन्द्र झाको साटो पुराना मधेसी नेताबाट एक जनालाई पदाधिकारीमा तानिुनपर्ने मधेसी नेताले माग गरेका छन् । उनीहरुको माग मधेसबाट एकजनालाई सचिव बनाउनुपर्ने रहेको छ । मधेसी नेताले सचिव पाउने अवस्था आए त्यसका दाबेदार विश्वनाथ साह हुन् । प्रभु साह जनयुद्धकालीन भए पनि बरियतामा भन्दा धेरै पछाडि छन् ।

आयोजक समितिका सबैलाई पूर्ण सदस्य बनाइनुपर्ने

महाधिवेशनअघि आयोजक समितिमा रहेका २५ भन्दा बढी केन्द्रीय सदस्यलाई वैकल्पिकमा झार्न नपाइने मधेसी नेताहरुको माग छ । हेटौडा महाधिवेशन हलबाट चुनिएका ९८ केन्द्रीय सदस्यहरुमा प्रभु साह, विश्वनाथ साह, श्रवण यादव, रामकुमार यादव, रामरिझन यादव, हकिकुल्लाह खाँ र रामकुमार शर्मामात्रै परेका छन् । भने ३ सय ९९ सदस्यीय समितिमा पूर्वआयोजक समितिबाट करिब २० जना थपिने छन् ।

महाधिवेशन आयोजक समितिमा रहेका मधेसी नेताहरुमा दिलिपकुमार साह, रामलौट तिवारी, घनश्याम यादव, शिवचन्द्र कुशवाह, भरतप्रसाद साह, रामचन्द्र मण्डल, असर्फी सदा, असर्फी यादव, शिवकुमार मण्डल र बोधमाया यादव छन् । त्यसैगरी अतहर हुसैन फारुकी, सुरेन्द्रप्रसाद जैसवाल, अशोककुमार मण्डल, उमेशकुमार यादव, अजयशंकर नायक, विन्देश्वर राय यादव, देबेन्द्र पटेल, राजु चमार हरिजन र चिनक कुर्मीसमेत महाधिवेशन आयोजक समितिका सदस्य हुन् ।

महाधिवेशन आयोजक समितिमा रहेका सबै नेताहरु केन्द्रीय समितिमा पर्ने भए पनि अधिकांशलाई वैकल्पिक सदस्य बनाउने योजनाप्रति मधेसी नेताले असन्तष्टि पोखेका छन् । मधेसबाट थपिने सबैलाई पूर्ण केन्द्रीय सदस्य बनाइनुपर्ने मधेसी नेताहरुको माग छ । रामरिझन यादवको कोठामा भएको भेलाको निश्कर्ष विश्वनाथ साहले प्रचण्डसमक्ष जाहेर गरिसकेको बुझिएको छ । सो भेलाबाट मधेसी नेताहरुले मधेसको भूगोल किटानी गर्नसमेत प्रचण्डसँग आग्रह गरेका छन् । मिथिला, भोजपुरा र अवधलाई मिलाएर मधेस प्रान्त बनाइनुपर्ने उनीहरुको माग छ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...