एमाले समर्थित पत्रकारमा नेतृत्वको होडबाजी

२४ फागुन, काठमाडौं । यतिबेला विराटनगरमा एमाले पत्रकार संगठन प्रेस चौतारी नेपालको सातौं राष्टिय सम्मेलनको रौनक छाएको छ । भोलि एमाले अध्यक्ष झलनाथ खनालले उद्घाटन गर्ने उक्त सम्मेलनमा सहभागी हुन देशका ७४ जिल्लाका प्रतिनिधिहरु बिराटनगर पुग्ने क्रम शुरु भएको छ । र, यससँगै चौतारीको भावी नेतृत्व चयनको विषयले बिराटनगर गर्माएको छ ।

चौतारीका हालका अध्यक्ष गगन विष्ट आफूले पहिलोपटक पत्रकार महासंघ नेतृत्वमा चौतारीसम्बद्ध पत्रकारहरुलाई स्थापित गरेबापत पुनः अध्यक्ष बन्ने चाहना व्यक्त गरेका छन् । आफ्नो नाममा सर्वसम्मत नहुने भएपछि विष्टले पनि उम्मेदवारी दिएर चुनावी मैदानमा उभिने संकेत दिएका छन् । तर, त्यसो गरेमा अध्यक्षका अर्का दाबेदार राजेन्द्र अर्यालको जीतलाई गगनको उम्मेदवारीले सकारात्मक प्रभावपार्ने चौतारीका एकथरि पत्रकारले बताएका छन् । गगनको उमेद्वारीले अध्यक्षका अर्का प्रत्यासी विष्णु रिजालको पक्षमा नेतृत्व जाने स्थिति छ ।

चौतारीका केही वरिष्ठ पत्रकारहरु भने मैदानमा देखिएका यी तीनबाहेकका अर्कै अनुहारलाई सर्वसम्मत अध्यक्ष बनाउने प्रयासमा छन् । उनीहरुले भोलि २५ गते साँझभरिमा सर्वसम्मतको नाम दिने चौतारी नेतृत्वलाई बचन दिएका छन् । यसरी आउने सर्वसम्मतको नाममा प्रमोद दाहालको सम्भावना रहेको बताइन्छ । अर्कातिर गणेश बस्नेतले पनि अध्यक्षमा उम्मेदवारी दिने घोषण गरिसकेका छन् ।

प्रेस चौतारी चुनावको रमाइलो पक्ष त के छ भने, प्रतिस्पर्धामा उत्रिएका सबै उम्मेदवार माधव नेपाल र केपी ओली गुटका छन् । संस्थापन पक्षका मानिएका गगनलाई संस्थापन समूहकै सहयोग देखिँदैन । त्यसमध्ये पनि आयोजक जिल्ला मोरङ र सुनसरीका पत्रकारहरु गगनसँगै रुष्ट छन् ।

आयोजक पूर्वाञ्चल कमिटीले प्रकाश खतिवडालाई वरिष्ठ उपाध्यक्षमा निर्वाचित गर्ने कुरालाई प्रतिष्ठाको विषय बनाएको छ । वरिष्ठ उपाध्यक्षका लागि विष्णु रिजालका समर्थक दुर्गाप्रसाद शर्मासहित शरद अधिकारी, वालकुमार नेपाललगायत मैदानमा छन् । यसबाहेक झन्डै आधा दर्जन उम्मेदवार वरिष्ठ उपाध्यक्ष बन्ने लाममा देखिएका छन् । महासचिवमा लक्की चौधरी र माधव नेपालसँगै रामहरि सिलवाल उम्मेदवार बन्ने भएका छन् ।

सबैभन्दा बढी उम्मेद्वारी सचिव पदमा छ । गगनले तत्कालीन एमाले उपाध्यक्ष अशोक राईका दाहिने हात भनी गाली गर्ने गरेका राजेश राई, गणेश पाण्डेदेखि माओवादी आक्रमणमा परेको झुटो प्रचारबाट उदाएकी टीका विष्टसम्म सचिव पदमा उम्मेदवार छन् । सोही पदमा रामकुमार एलन, नरेन्द्र साउद, विमला राई, डिल्ली पोखरेल, शान्ति गुरुडलगायतका छन् । बिराटनगरमा चर्चा छ, विमलालाई अध्यक्ष गगनले राजेशविरुद्ध खडा गरेका हुन् ।

कोषाध्यक्षमा अहिलेसम्म पार्टीका उपाध्यक्ष वामदेव गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदी र धादिडका नवराज छत्कुली उम्मेदवार बन्ने चर्चा छ । क्षेत्रीय उपाध्यक्षमा पूर्वाञ्चलले कुशलबाबु बस्नेतलाई निर्विरोध निर्वाचित गराउने अभ्यास गरिरहेको छ । कोशीका केन्द्रीय सदस्यमा हालसम्म लीलाराज भटराई, बन्धु पोखरेल र रत्न आचार्य मैदानमा छन् । तर, एमालेको स्थानीय नेतृत्व कोशीका केन्द्रीय सदस्य पनि निर्विरोध गराउने अभ्यास गरिरहेको छ । यसका लागि एकजनालाई मनोनित, एकजनालाई पत्रकार महासंघ र एकलाई केन्द्रीय सदस्यको नीति अबलम्बन गरिएको छ । मेचीबाट आउने केन्द्रीय सदस्यबारे हालसम्म उम्मेदवारी देखिएको छैन ।

महिला उपाध्यक्षमा हालकी कोषाध्यक्ष अक्षरी पोखरेलमात्रै देखिएकी छन् । महिला केन्द्रीय सदसयमा धरानकी निलिफा सुब्बा, चमिना भटराई, दाडकी देविका घर्तिमगर, काठमाडौंकी सतिदेवी उप्रेतीलगायत मैदानमा देखिएका छन् । आदिवासी जनजाति सदस्यमा तेह्रथुमका भरत इडनाम, भोजपुरका किरण राई मात्रै मैदानमा छन् । उनीहरु निर्विरोध हुने सम्भावना छ । उपत्यकाबाट केन्द्रीय सदस्यका लागि विष्णु बेलबासे, अमृतनाथ तिमिल्सिना, शुरोजंग पाण्डेबीच चर्को प्रतिष्पर्धा हुने भएको छ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...