चिकित्सकहरूले शनिबार र आइतबार देशभरका अस्पताल बन्द गर्ने

काठमाडौं १ भदौ। शिक्षण अस्पताल महाराजगञ्जका डा. गोविन्द केसीले थालेको अमरण अनसनप्रति ऐक्यवद्धता जनाउँदै चिकित्सकहरुले शनिबार र आइतबार देशभरका अस्पताल बन्द गर्ने भएका छन् ।डा. केसी जीवन मरणको दोसाँधमा पुग्दा समेत सरकारले वास्ता नगरेको भन्दै नेपाल चिकित्सक संले शनिबार र आइतबार देशभरका सम्पूर्ण अस्पताल तथा क्लिनिकमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको हो ।

‘टिचिङ जाऊँ, गोविन्द बचाऊँ’ अभियान समेत थालिने संघका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले भन्नुभयो-’डा. श्रेष्ठ भनेको हाम्रो गहना हो । सरकारले सुन्दै नसुनेपछि उहाँको जीवन रक्षाका लागि सेवा बन्द गरेर आन्दोलनमा उत्रनुको विकल्प छैन ।’ आन्दोलनले हजारौं विरामीहरुलाई मार पर्दैन त भन्ने प्रश्नमा श्रेष्ठले आफूहरुले गम्भीर प्रकृतिका विरामीहरुको आकस्मिक कक्षमा उपचार गर्ने बताउनु भयो ।

चिकित्सक संघले ‘टिचिङ जाऊँ, गोविन्द बचाऊँ’ अभियानका साथ भोलि विहान ९ बजे शिक्ष्ण अस्पतालमा भेला हुन समेत सबै चिकित्सकहरुलाई आहृवान गरेको छ । राजनीतिक भागबाण्डाका आधारमा हुने नियुक्तिको विरोधमा ५ दिनदेखि अमरण अनसनमा बस्नु भएका केसीको स्वास्थ्य अवस्था गम्भीर छ । स्वास्थ्य अस्वथा जानुक बन्दै गएपछि केसीलाई सलाइन चढाइएको छ । डाक्टरहरुको आन्दोलनका कारण बुधबारदेखि शिक्षण अस्पताल महाराजगंजमा आकस्मिक बाहेकका अरु सबै सेवा पूर्ण रुपमा ठप्प छ ।

सस्तो र राम्रो उपचार हुन्छ भन्दै शिक्षण अस्पतालमा हरेक दिन २ हजारदेखि २५ सय बिरामी शिक्षण अस्पताल पुग्ने गर्छन् । तर, चिकित्सकहरुको आन्दोलनका कारण विरामीको बिचल्ली परेको छ ।

समस्या के हो ?

शिक्षण अस्पताल महाराजगञ्ज त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्सा शास्त्र संकाय अन्तर्गत पर्छ । विश्वविद्यालयमा उपकूलपति नियुक्तिमा त राजनीतिक हानथाप हुने मुलुकमा संकायको डिनमा पनि यही प्रवृत्ति लागू हुने नै भयो । राजनीतिक नियुक्तिको केही ठाउँमा बिरोध पनि हुने गरेको छ । यसरी बिरोध गर्नेमा शिक्षण अस्पतालका डा. केसी नेतृत्वको एउटा समूह पनि छ । डा. केसी र उनको समूहले पहिलेदेखि नै राजनीतिक नियुक्ति नगर्न दबाब दिँदै आएको थियो । तर विश्वविद्यालयका उपकूलपति डा. हिराकाजी मर्हजनले एकलौटी र्निणयका आधारमा नाक, कान, घाँटी विभागका प्राध्यापक डा.धर्मकान्त बाँस्कोटालाई तीन महिनाका लागि निमित्त डिनको जिम्मेवारी दिए ।

जिम्मेवारी पाए लगत्तै बाँस्कोटाले मंगलबार नै पदबहाली गरिसकेका छन् । अस्पतालका अनुसार चार वर्षअघि प्राध्यापक भएका बाँस्कोटाभन्दा ५० भन्दा बढी वरिष्ठ प्राध्यापक छन् । एमाले कोटामा उपकुलपति भएका महर्जनले आफ्नै पार्टीको सिफारिसमा डिन नियुक्त गरेका हुन् । बास्कोटाले आफू ३३ वर्षदेखि सेवारत रहेकाले राजनीतिक आधारमा नभएर बरिष्ठताकै आधारमा डिन नियुक्त भएको दावी गरेका छन् । एमाले निकट कर्मचारी र डाक्टरले पनि यसमा सहमति जनाएका छन् । तर डा. केसी र उनका समर्थक भने राजनीतिक नियुक्ति भएको भन्दै माग पूरा नहुँदासम्म आन्दोलन नरोक्ने अडानमा छन् ।

साभारः अनलाइन खबर

कमेन्टहरु
Loading...