पेन्टर मजदर संघको अध्यक्षमा थापा

पोखरा, १४ फागुन/अखिल नेपाल पेन्टर मजदुर संघ, कास्कीको तेस्रो जिल्ला सम्मेलनले रामशरण थापाको अध्यक्षमा १९ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । आइतबार पोखरामा सम्पन्न सम्मेलनले उपाध्यक्षमा आशबहादुर गुरुङ, सचिवमा अनिश घिमिरे, सह–सचिवमा देवकुमार राई र कोषाध्यक्षमा नोवेल राईलाई निर्वाचित गरेको छ । समितिको सदस्यहरुमा शम्भु घिमिरे, सरोज राई, आशिष राई, राजकुमार विक, कृष्ण विक, कृष्ण राई, च्याङ तमु, रघुविर महतो, रोशनी तामाङ, राम कार्की, नाना मल्ल, रम्भुप्रसाद यादव र विकास लङ्गेली रहनुभएको छ ।

सम्मेलनले प्रेम गुरुङ, विष्णु शर्मा र चन्द्रबहादुर गुरुङलाई सल्लाहकारमा चयन गरेको छ । सम्मेलनको एकीकृत नेकपा (माओवादी) का केन्द्रीय सदस्य हरि अधिकारी (कुमार) ले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नेता कुमारले अहिलेको सरकारलाई हटाउने कुनै संवैधानिक व्यवस्था नरहेको बताउनुभयो । उहाँले दलहरुबीचको सहमति बाहेक माओवादी नेतृत्वको सरकारलाई हटाउने कुनै बलियो आधार नरहेको उल्लेख गर्नुभयो ।

उहाँले प्रधानन्यायाधीशकै नेतृत्वमा चुनावी सरकार बन्ने बताउँदै नबने अर्को नयाँ विकल्पमा छलफल गर्न एकीकृत माओवादी तयार रहेको स्पष्ट पार्नुभयो । ‘चुनाव भयो भने चुनावद्वारा संसदवादीलाई पराजित गर्छौै’–उहाँले भन्नुभयो–‘चुनाव नभए हाम्रा एजेण्डाको माध्यमबाट प्रहार गर्छौ ।’ कार्यक्रममा बोल्दै पुर्व सभासद एवं युवा नेता राजकाजी गुरुङ (करण) ले मजदुरहरुलाई स्वतन्त्र हुन्छन् भन्नु भ्रम मात्रै भएको बताउनुभयो । उहाँले मजदुरहरुलाई संगठित हुन नदिएर आफ्नो स्वार्थपुर्ति गर्नेहरुले स्वतन्त्रको नाटक रच्ने षड्यन्त्र गरेको टिप्पणी गर्नुभयो ।

कमेन्टहरु
Loading...