संगीतकार अम्बर गुरुङलाई ढेवाजु संगीत पुरस्कृत

पोखरा, १२ फागुन/नेपाली संगीतका एक शिर्ष व्यक्तित्व, नेपाल संगीत तथा नाट्य एकेडेमीका कुलपति अम्बर गुरुङलाई लालबहादुर चण्डेश्वरी ढेवाजु संगीत स्मृति पुरस्कार–२०६९ बाट सम्मानित गरिने भएको छ । पुरस्कारकारको सञ्चालक संस्था संगीत प्रशिक्षण केन्द्र पोखराले आज पत्रकार सम्मेलनको आयोजना गरी यसको जानकारी दिएको हो । पुरस्कारको राशी नगद ५१ हजार एक सय एक, ताम्रपत्र र दोसल्ला रहेको छ ।संगीत प्रशिक्षण केन्द्रका संस्थापक अध्यक्ष लालबहादुर ढेवाजु र उनकी श्रीमती चण्डेश्वरीको स्मृतिमा उनका परिवार जनले पाँच लाखको अक्षय कोषको स्थापना गरी यो पुरस्कारको सञ्चालन गरेका हुन । प्रत्येक तीन वर्षमा प्रदान गर्ने गरी पुरस्कारलाई राष्ट्रिय स्तरमा प्रदान गर्ने निर्णय भएपछि संगीतकार गुरुङ पहिलो पटक यो पुरस्कारबाट पुरस्कृत हुन लागेका हुन ।

गुरुङलाई आगामी शिवरात्रीको दिन राष्ट्रकवि माधव घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी सो पुरस्कार प्रदान गरिने संस्थाका अध्यक्ष रामभूषण पराजुलीले जानकारी दिए । पुरस्कार योग्य प्रतिभा छनौट समितिका संयोजक तीर्थ श्रेष्ठले नेपाली संगीतको क्षेत्रमा जिवितमध्ये सबैभन्दा शिर्ष साधकलाई सम्मान गर्न लागिएको बताए । पूर्विय र पाश्चात्य दुबै संगीतको ज्ञान भएको गुरुङ नेपाल अष्केष्टाको शुरुवात कर्ता पनि हुन ।

वि. स. २०६४ अघि स्थानिय स्तरमा संगीतमा योगदान गर्ने प्रतिभालाई पुरस्कृत गर्दै आएकोमा सरोजगोपाल बज्राचार्य, स्व. कल्याण शेरचन, बाबा बज्राचार्य, अमृत गुरुङ, रामभक्त जोजिजु, धनबहादुर गायक र श्यामलाल श्रेष्ठ सम्मानित भईसकेका छन् । संगीत प्रशिक्षण केन्द्रले न्यूनतम शुल्कमा संगीत प्रशिक्षण गर्दै आएको छ । लोपोन्मुख अवस्थामा पुगेकोले हाल मादल र सारंगी निःशुल्क प्रशिक्षण गरिने संस्थाले जनाएको छ ।

कमेन्टहरु
Loading...