पश्चिम पृतना रनिङ शिल्डको उपाधि वाटुलेचौर ह्याण्डवल क्लबलाई

पश्चिम पृतना (विजयपुर व्यारेक) मा बिहिबार सम्पन्न भएको प्रथम पश्चिम पृतना खुल्ला ह्याण्डवल रनिङ शिल्ड प्रतियोगिताको उपाधि वाटुलेचौर ह्याण्डवल क्लबले जितेको छ । फाईनल खेलमा वाटुलेचौर ह्याण्डवल क्लबले विभागिय टोली सशस्त्र प्रहरी वल कालिका गण मालेपाटनको एपिएफलाई २३–१६ को गोल अन्तरले पराजीत गरी उपाधि सहित नगद २५ हजार हात पार्न सफल भएको हो । उपविजेता भएको एपिएफले १५ हजार साथमा ट्रफि, मेडल, प्रमाण–पत्र पायो ।

वाटुलेचौरको जितमा बिमल थापाले ६, बिशाल बस्नेतले ५, प्रेम गुरुङ र विपिन विष्टले ह्याट्रिक गरे, दिनेश श्रेष्ठ, सरन थापा र प्रदीप रसाईलीले २÷२ गोलको योगदान दिए । यता एपिएफको तर्फबाट विरेन्द्र चन्दले डवल ह्याट्रिक, मनोज ठगुनाले ४ , दिपक बोहराले ह्याट्रिक, रामप्रसाद तिमिल्सिनाले २ र संगम खनालले एक गोल गरे ।

तेश्रो स्थानको लागि भएको प्रतिष्प्रर्धामा आयोजक पश्चिम पृतना ए को टोलीले काठमाण्डौ कपनको टोलीलाई ३८–१५ को गोल अन्तरले पराजीत गर्यो । प्रतियोगितामा वाटुलेचौर ह्याण्डवल क्लबका प्रेम गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिता अवधिभर ४१ गोल गरेका आयोजक पश्चिम पृतना एका श्रीबहादुर सिन्जालीले सर्र्वाधिक गोल कर्ताको उपाधि हात पारे । उत्कृष्ट तथा सर्वाधिक गोल कर्ताले नगद ५÷५ हजार पुरस्कार पाए ।

विजयी खेलाडीहरुलाई क्षेत्रिय प्रसासक नारायणप्रसाद मलेगु, कास्कीका प्रमुख जिल्ला अधिकारी चेतनाथ भट्टराई, पश्चिम पृतनाका पृतनापति भिक्टर जंग राणा, नेपाल ह्याण्डवल संघका केन्द्रीय अध्यक्ष एवम दक्षिण एसियाली ह्याण्डवल संघका उपाध्यक्ष तेज गुरुङ, जिल्ला अध्यक्ष सेरबहादुर गुरुङ, पश्चिम पृतनाका चीफ अफ स्टाफ रमेश पुन लगायतले पुरस्कार वितरण गरे । लिग कम नकाउटका आधारमा तीन दिनसम्म चलेका उक्त प्रतियोगितामा आयोजक पश्चिम पृतनाको दुई टिम सहित ८ टोलीको सहभागीता रहेको थियो ।

कमेन्टहरु
Loading...