पोखरामा राष्ट्रिय ह्याण्डबल प्रतियोगिता शुरु

झण्डै नौ वर्षपछि पोखरामा राष्ट्रियस्तरको ह्याण्डबल प्रतियोगिता शुरु भएको छ । नेपाली सेनाको पश्चिम पृतना पोखराको आयोजना तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक सहयोगमा मंगलबारदेखि प्रथम पश्चिम पृतना रनिङशिल्ड ह्याण्डबल प्रतियोगिता पृतनास्थित कोर्टमा शुरु भएको हो । प्रतियोगिता लिगकम नकाउटको आधारमा खेलाईएको छ ।

प्रतियोगिताको उदघाटन खेलमा नेपाली आर्मीको पश्चिम पृतनाको आर्मी एले उदयपुरबाट सहभागिता जनाएको पुर्वी क्षेत्रलाई पराजित गरेको छ । एले २७–८ को फराकिलो गोलस्कोरमा पराजित गर्दै लिगकम नकाउट खेलमा दोस्रो चरण प्रवेश गर्ने बाटो सहज बनाएको छ । अमर श्रेष्ठले १०, श्रीबहादुर सिंजाली, मदन दुनाराले समान ७÷७ गोल गरेका थिए। तारा थापाले भने दुई गोल आफनो नाममा लेखाएका थिए । पुर्वी क्षेत्रको लागि नयन राईले व्यक्तिगत पाँच गोल गरे ।

यसैगरी दोस्रो खेलमा बाटुलेचौर क्लबले आर्मीको बी टोलीलाई ३८–८ को फराकिलो अन्तरले पन्छाएको छ । दिनेश श्रेष्ठले आठ, प्रेम गुरुङ सात र विशाल बस्नेतले ५ गोलको महत्वपूर्ण योगदान दिएका थिए । लक्ष्मीपति आधिकार र सोममणि आचार्यले आर्मी बीका लागि दुई÷दुई गोल गरेका थिए । पोखरा रंगशालामा २०६० सालमा राष्ट्रियस्तरको ह्याण्डबल प्रतियोागिता आयोजना गरिएको थियो ।

उदघाटन समारोह नेपाल ह्याण्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङले आउँदो डिसेम्बर १२–१८ मा यु–२१ दक्षिण एशियाली पुरुष तथा महिला ह्याण्डबल प्रतियोगिता आयोजना गर्ने जानकारी दिए । पृतनाका पृतनापति भिक्टरजंग राणाले खेलकुद समपर्ण र स्वास्थ्य प्रतिस्पर्धाले खेल्नुपर्ने बताउँदै निजामति र सेनाको सम्बन्ध विस्तार गर्न प्रतियोगिताले सघाउ पु¥याउने विश्वास व्यक्त गरे ।

रेफ्री चित्र थापालाई बल हस्तान्तरण गर्दै राणाले प्रतियोगिताको शुभारम्भ गरेका थिए । प्रतियोगितामा सुदुरपश्चिम, लिटिल स्टेप उच्चमावि, बाटुलेचौर ह्याण्डबल क्लब, पुर्व क्षेत्र, काठमाडौं कपन, शसस्त्र प्रहरीको एपीएफ र पृतनाका दुई टोलीको सहभागिता रहेको छ । प्रतियोगिता विहीबार टुंगिने छ।

कमेन्टहरु
Loading...