पोखरामा सोमबार (भाेली) यःमरी सांस्कृति महोत्सव हुने

पोखरा । यःमरी पुन्ही अर्थात यमरी पूर्णिमाको अवसरमा पोखरामा यःमरी महोत्सव एवं यःमरी बनाउने प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ४ को आयोजना तथा नेवाः मिसा पुचः कास्कीको समन्वयमा यही पुस ९ गते पोखरामा यःमरी महोत्सव एवम् यःमरी बनाउने प्रतियोगिता हुने शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

महोत्सव पोखरा–४ गणेशटोलको सडक क्षेत्रमा हुने वडाध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिए । महोत्सवमा यःमरी बनाउने प्रतियोगितासहित यःमरी बनाएको लाइभ डेमोन्स्ट्रेसन गरिने नेवाः मिसा पुचः कास्कीकी अध्यक्ष संगीता बज्राचार्यले बताइन् । महोत्सवमा यःमरीको प्रदर्शनी तथा बिक्रीसहित विभिन्न नेवारी परिकारको प्रदर्शनी तथा बिक्री गरिने उनले जानकारी दिइन् । उनका अनुसार महोत्सवमा यःमरीसहित बारा, सेलरोटी, समयबजीलगायतका परिकारहरुको स्टल रहने छन् । त्यसबाहेक स्थानीयले उत्पादन गरेका मोजा, गलबन्दीलगायत जुत्ता, चप्पल तथा कपडाका स्टल पनि रहने अध्यक्ष बज्रचार्यले बताइन् ।

महोत्सवमा यःमरी प्रति गोटा ८० रुपैयाँ, समयबजी प्रति प्लेट २ सय, बारा, सेलरोटीको ५० मा बिक्री हुने जनाइएको छ । यःमरी बनाउने प्रतियोगितामा २० टिमले सहभागिता जनाउने अध्यक्ष बज्राचार्यले जानकारी दिइन् । बाँकी केहीले अप्रतियोगी सहभागिता जनाउने उनको भनाइ छ ।

महोत्सवमा पोखरेली लक्ष्य ब्यान्डको सांगीतिक प्रस्तुति रहने छ । उक्त अवसरमा मौलिक लाखे नाच, कुमारी नाच लगायत अन्य सांस्कृतिक झाँकीहरुको समेत प्रस्तुति हुने उनले बताइन् ।

महोत्सव अघि झाँकीसहितको ¥याली निकालिने जनाइएको छ । पोखरा–४ को कार्यालयबाट सुरु हुने ¥याली पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्णटोल हुँदै गणेशटोलमा पुगेर उद्घाटन समारोहमा परिणत हुने वडाध्यक्ष पराजुलीले जानकारी दिए । ¥यालीमा सहभागी मध्ये पहिलो हुने समूहलाई नगद ७ हजार, दोस्रो हुनेलाई ५ हजार र तृतीय हुनेलाई ३ हजारसहित प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

त्यस्तै, यमरी प्रतियोगितामा पहिलो हुनेलाई १० हजार, दोस्रो हुनेलाई ७ हजार, तेस्रो हुनेलाई ५ हजार र सान्त्वना ३ हजारसहित प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए । अध्यक्ष पराजुलीले संस्कृति संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्नका लागि यःमरी महोत्सव गर्न लागिएको बताए । सडक, पानी, बत्ती मात्रै विकास होइन,’ उनले भने, ‘संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्नु पनि विकास हो ।’ उनले पोखराको रामकृष्ण टोलदेखि गणेशटोल, भीमसेनटोल, मोहरियाटोल हुँदै बागबजारसम्मको क्षेत्र नेवारी परम्परा र संस्कृतिको ऐतिहासिक ठाउँ भएकाले यसको संरक्षणका लागिपनि चाँडै योजनाबद्ध ढंगले काम गर्ने तयारी भएको बताए ।

नेवाः मिसा पुचः कास्की अध्यक्ष संगीता बज्राचार्यले यःमरी महोत्सवले पर्यटन प्रवद्र्धनमा पनि योगदान दिने विश्वास व्यक्त गरिन् । ‘संस्कृतिको विविधता हाम्रो विशेषता हो । यसको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्दा पर्यटनमा पनि टेवा पुग्छ,’ उनले भनिन् ।

कमेन्टहरु
Loading...