घुमौँ पञ्चासे अभियान असोज १ गतेदेखि सुरु हुने

पोखरा । कास्की, स्याङ्जा र पर्वत जिल्लाको संगमस्थल पञ्चासे नेपालको उत्कृष्ट पर्यटन गन्तव्य मध्ये एक हो । उक्त प्रसिद्ध धार्मिक, पर्यटकीय एवं साँस्कृतिक तीर्थस्थल पञ्चासेमा ‘घुमौ पञ्चासे अभियान’ असोज १ गते सोमबारबाट सुरु हुने भएको छ ।

 

पञ्चासे ईको टुरिजम प्रालिको आयोजनामा हुन लागेको यो कार्यक्रममार्फत हजारौं पर्यटकलाई ‘पञ्चासे पर्यावरणीय पदयात्रा’ नामक अभियान मार्फत पञ्चासे पदयात्रामा निम्ता गरिएको छ। प्रकृति, पर्यावरण र जैबिक बिबिधतामा धनी क्षेत्र पञ्चासेमा बिशेष प्याकेज कार्यक्रमहरु मार्फत प्राकृतिक पदयात्राको अभियान थालनी गरिएको पञ्चासे ईको टुरिजम प्रालिका अध्यक्ष नवराज पौडेलले बताए।

 

आश्विन १ गतेबाट सुरु हुने पञ्चासे पर्यावरणीय पदयात्रा अभियानमा पञ्चासे हाईकिङ्ग नामक पदयात्रा, पञ्चासे ग्रामीण पर्यापर्यटन तथा होमस्टे आवास, पञ्चासे योगा तथा मेडिटेसन, पञ्चासे ईको क्याम्प (सानो घर) आवास, पञ्चासे जंगल सफारी, फरेस्ट थेरापी तथा जंगल परिभ्रमण, पञ्चासे साँस्कृतिक साँझ (रोधी घर) लगायतका विशेष प्याकेज अभियानहरु र पर्यापर्यटन आयामहरु समावेश गरिएको आयोजक संस्थाले जनाएको छ ।

 

पोखरा नजिकैको हरित पर्यावरणीय गन्तव्य पञ्चासेलाई शान्त पर्यटन गन्तव्य र प्रकृतिको भूस्वर्ग उपहार गन्तव्य अभियानका रुपमा चिनाउन घुमौ पञ्चासे अभियान सुरुवात गरिएको पञ्चासे क्षेत्र विकास समिति प्रवक्ता समेत रहेका पौडेलले बताए।

कमेन्टहरु
Loading...