२५ औं लामाचौर तीज महोत्सव, मुख्य आकर्षण लामाचौर कप राष्ट्रिय भलिबल

पोखरा । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा २५ औं संस्करणको लामाचौर तीज महोत्सव हुने भएको छ ।
संस्थाको २७ औं वार्षिक समारोह एवं तीज अवसरमा आगामी भदौ ३० देखि असोज १ सम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा सो महोत्सव हुन लागेको हो ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले विषम परिस्थितिबीच पनि महोत्सव आयोजना गरिएको बताए ।
“मौलिक संस्कृतिको जगेर्ना गरौँ” भन्ने उद्घोषका साथ आयोजित महोत्सवको मुख्य आकर्षण राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता ‘लामाचौर कप’ हो । १० औं संस्करणको लामाचौर कप राष्ट्रिय भलिबलमा महिलातर्फ ४ र पुरुषतर्फ ५ टिमले भाग लिने अध्यक्ष भण्डारीले बताए ।

महिला राष्ट्रिय भलिबलतर्फ विभागीय सशस्त्र प्रहरी बल एपिएफ क्लब, नेपाल पुलिस क्लब, न्यु डायमण्ड युथ स्पोर्टस् क्लब र न्यु एभरेष्ट भलिबल क्लब बुटवलले भाग लिने छन् ।
त्यस्तै पुरुष राष्ट्रिय भलिबलमा मणिमुकुन्द भलिबल क्लब बुटवल, सशस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, गलकोट स्पोर्टस् क्लब बागलुङ र गण्डकी प्रदेशको टिमबीच प्रतिस्पर्धा हुनेछ । पुरुष भलिबल गत वर्षदेखि सुरु भएको हो ।

महिला तथा पुरुषतर्फ विजेता दुवैलाई १ लाख ५० हजार, उपविजेतालाई १ लाख, तेस्रोलाई ५० हजार पुरस्कार साथमा शिल्ड, मेडल र प्रमाणपत्र दिइनेछ । साथै, सर्वोत्कृष्ट खेलाडी एवं विधागत पुरस्कार पनि व्यवस्था गरिएको आयोजकले जनायो ।

यस्तै, अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, अन्तरमहिला समूहगत खुला तीज गीत प्रतियोगिता पनि महोत्सवको अर्को आकर्षण हुन् । ३ दिनसम्म चल्ने महोत्सवमा राष्ट्रिय कलाकार चिज गुरुङ, लक्ष्मी मल्ल, दीपक खड्का, चोलेन्द्र पौडेल, रामजी पौडेल, ज्योति लोहनी, लक्ष्मी बानियाँ, सरस्वती लामिछाने, मधु थापा लगायतको विशेष प्रस्तुति रहनेछ । औद्योगिक तथा व्यापार प्रदर्शनीका स्थलहरु रहने छन् भने मणिपाल शिक्षण अस्पताल सहकार्यमा हेल्थ क्याम्प सुविधा पनि हुनेछ ।

तीज गीत प्रतियोगितामा प्रथमलाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार र सान्त्वनालाई १० हजार र सहभागी टिमलाई प्रोत्साहनवापत २ हजार व्यवस्था गरिने छ । अन्तरविद्यालयस्तरीय लोकनृत्यमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना ९३ टिम० लाई क्रमशः ४०, २५, १५ र ५ हजार तथा उत्कृष्ट भेषभूषालाई ५ हजार पुरस्कृत गरिने भएको छ ।

शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिने श्रष्टालाई सम्मान र छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइएको संस्थाका प्रथम उपाध्यक्ष तथा सूचना तथा प्रचार प्रसार उपसमिति संयोजक दिनेश भण्डारीले बताए । महोत्सव सम्पन्न गर्न ५२ लाख ७७ हजार ५ सय खर्च लाग्ने अनुमान रहेको अर्थ संकलन तथा टिकट व्यवस्थापन समिति संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले बताए । महोत्सवबाट खर्च घटाइ बाँकी रकम आकस्मिक सेवा तथा तीज महोत्सव संचालन कोष वृद्धिका लागि थप गरिने बताइएको छ । महोत्सवमा प्रवेश निशुल्क हुनेछ तर भलिबल हेर्न टिकट व्यवस्था गरिएकाे साथै भलिबल हेर्न ४ हजार सिट क्षमताको अस्थायी प्यारापिट निर्माण गरिएको छ ।

महोत्सवका लागि अध्यक्ष स्वागतसिंह भण्डारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । जसमा १३ उपसमिति छन् ।

पोखरा क्षेत्रमा हुने मेलामहोत्सवको तुलनामा पृथक लामाचौर तीज महोत्सवको औपचारिक कार्यक्रम भदौ ३० देखि सुरु हुने भए पनि भलिबल प्रतियोगिता अघिल्लो दिनदेखि सुरु हुने संस्थाका सहसचिव हरि थापाले बताए । मेलाको समापन असोज १ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी प्रमुख अतिथ्यतामा हुनेछ ।

कमेन्टहरु
Loading...