तायाःमचा नृत्य प्रतियोगिता भदौ १६ गते रानीपौवामा हुने, ३० समूहले सहभागिता जनाउने

गन्थन संवाददाता, पोखरा । तायाःमचा नृत्य प्रतियोगिता २०८० यहि भदौ १६ गते शनिबार पोखरा ११ रानीपौवामा हुने भएको छ ।

२०५६ सालदेखि निरन्तर हुँदै आएको प्रतियोगिता यस वर्ष भने श्री रानीपौवा तायाःमचा नाच समितिको व्यवस्थापनमा आयोजना हुने भएको हो ।

प्रतियोगितामा पुरुषतर्फ २१ समूह र महिलातर्फ ९ समूहगरि कुल ३० समूहको प्रतियोगिता हुने आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने समूहले नगद ३ लाख १ रुपैयाँ, दोस्रो हुनेले २ लाख १ रुपैयाँ, तेस्रो हुनेले १ लाख १ रुपैयाँ र सान्त्वना हुने समूलाई ३० हजार १ रुपैयाँ प्राप्त गर्नेछन् । यता महिलातर्फ प्रथम हुने समूहले नगद ४० हजार १ रुपैयाँ र दोस्रो हुने समूहले २० हजार १ रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि तीन दाजुभाई रामकाजी श्रेष्ठ, रविन्द्र श्रेष्ठ र शंकर श्रेष्ठले आफ्ना आमाबुबाको स्मृतिमा १० लाख रुपैयाँ सहयोग गरेका प्रतियोगिताका प्रचारप्रसार संयोजक सुभाष तझ्याले बताए । उनका अनुसार कार्यक्रमलाई थप रोचक बनाउन विभिन्न सामाग्रीहरुका र खाजाका स्टलहरु राखिनेछ ।

कार्यक्रममा बोल्दै नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेले तयाःमचा नाँच पहिला नेवा समुदायमा मात्र मनाइन्थ्यो भने अहिले सबै जातजातीको जस्तो भैसकेको बताए ।

प्रतियोगिताका मुल समिति संयोजक इश्वर प्रसाद कर्माचार्यले सबैको साथ सहयोगको आवश्यकता रहेको र यसलाई भव्यरुपमा सम्पन्न बनाउन अनुरोध गरे ।

त्यस्तै रानीपौवा तायाःमचा नाँच समितिका अध्यक्ष प्रेम प्रसाद कर्माचार्यले प्रतियोगिताका कारण युवाहरुमा छुट्टै खालको उत्सुकता र सक्रियता बढेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रमको सञ्चालन कल्याण कर्माचार्यले गरेका थिए ।

कमेन्टहरु
Loading...