धानबालीमा गवारो रोगको प्रकोप

म्याग्दी । म्याग्दीमा धानखेतीमा गवारो र पातबेरुवा रोगको प्रकोप देखिएको छ । गबारो कीराको प्रकोपले बढ्दै गरेको धानका बिरुवाका पात पहेंलो हुनुका साथै धानका गुभो मर्न थालेपछि म्याग्दीका किसान चिन्तित बनेका छन् ।

समयमा नै वर्षा नभएकाले ढिलोगरी कष्टका साथ रोपाइँ गरेका यहाँका किसान हुर्कंदै गरेका धानका बिरुवामा पातबेरुवा र गवारोको प्रकोप देखिएपछि उत्पादन घट्ने भन्दै चिन्तित बनेका हुन् । अन्य वर्षभन्दा यस वर्ष मनसुन ढिलोगरी सक्रिय भई असार अन्तिम सातादेखि अत्यधिक पानी परिरहेको छ ।

किसान धानको गोडमेलमा व्यस्त छन् । खेतमा धानका पात पहेंला भएका र गुभो मर्न थालेको देखेपछि किसानले वडाका कृषि प्राविधिक तथा कृषि ज्ञानकेन्द्रमा जानकारी दिने गरेका मालिका गाउँपालिका–७ का किसान टेकवीर बुढाले बताए । सुरुमा जिल्लाको पश्चिमी भेगमा देखापरेको यो रोग विस्तारै दक्षिणी भेगसम्म सरेको छ । म्याग्दीका अधिकांश ठाउँमा यो रोग देखा परे पनि कति क्षति भएको यकीन हुन सकेको छैन । धानमा यो रोग देखापरेपछि यसको निदान किसानले आफैँ गर्दै आएका छन् ।

कृषि प्राविधिकले पनि रोगकीरा निदानका लागि औषधि छर्किंन सल्लाह दिएका छन् । यहाँका किसानले बढीमात्रामा स्थानीय जातको गौरिया, गुडुरा, जेठोबुढोलगायतका जातका धानखेती गर्ने भएकाले यो बालीमा बढीमात्रामा गवारो र पात बेरुवा रोग लाग्ने गरेको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले जानकारी दिए ।

गवारो धानमा लाग्ने एक प्रमुख शत्रुजीव कीरा हो । धानमा गाँज आउनेदेखि लिएर फूल फुल्ने वा बोटको वयस्क अवस्थासम्म यसले आक्रमण गरी बर्सेनि ठूलो क्षति पु¥याउने गरेको किसानको गुनासो छ । कीराको प्रकोप तीव्ररूपमा फैलने भएकाले धानका बोट केही दिनमा नष्ट हुने गरेको किसानको भनाइ छ ।

धानमा पहेँलो गवारो, सेतो, छिर्के, गोल्ड–फ्रिन्ज्ड, कालो टाउके छिर्के र कलेजी रङको ट्टट्ट गरी छ किसिमका गवारो किराले धानमा आक्रमण गर्ने कृषि विज्ञ बताउँछन् । धानको बिरुवा÷बेर्ना अवस्थादेखि परिपक्व अवस्थासम्मको धानमा गवारोले आक्रमण गर्न सक्छ । धान खेतमा रासायनिक मलको कमी, पानीको कमी र सूक्ष्म तत्वको कमीले कीराको सङ्क्रमण सहजै फैलनसक्ने कृषि ज्ञानकेन्द्रका प्रमुख किरण सिग्देलले जानकारी दिए ।

कमेन्टहरु
Loading...