सोमबारे औंसीबाट मलमास प्रारम्भ : अधिकमासमा के गर्नु हुन्छ, के गर्न हुँदैन ?

काठमाडाै‌ं । सामान्यतया प्रत्येक वर्षमा १२ महिना हुन्छन्, तर पूर्वीय गणना पद्धति अर्थात् ज्योतिषीय चन्द्रपञ्चाङ्गअनुसार तीन वर्षमा एकपटक थप महिना आउँछ । जसलाई अधिकमास, मलमास वा पुरुषोत्तममास भनिन्छ । २०८० सालको साउन २ गतेबाट अधिकमास छ । यसकारण २०८० सालको साउन महिना ५९ दिनको अर्थात् दुई महिनाको छ । प्रत्येक तीन वर्षमा एकपटक एउटा अतिरिक्त महिना आउँछ । अधिकमासमा गरिने पूजा, व्रत र ध्यानको महत्त्व अद्वितीय छ । के तपाईलाई थाहा छ, प्रत्येक तीन वर्षमा एकपटक मलमास किन र के कारणले हुन्छ ?  यसको पौराणिक आधार के छ ? यसको महत्व के छ ? यसमा के गर्नु पर्दछ ? र के गर्न हुँदैन ?

 

मलमास प्रत्येक तीनवर्षमा किन र के कारणले हुन्छ ? 

प्राचीन नेपाली समाजमा समय निर्धारणको एकमात्र आधार भनेको ज्योतिषीय गणनाबाट तयार पारिएको पात्रो थियो । जसलाई सूर्य पात्रो र चन्द्रपात्रो भनेर नामकरण गरिन्थ्यो । सूर्यको गतिलाई आधार मानेर समयको निर्धारण गरिने सूर्यपात्रो हो भने चन्द्रको गतिलाई आधार मानेर समयको निर्धारण गर्ने पात्रो चन्द्रपात्रो हो । सूर्यको गतिलाई  आधार मानेर गणना गर्दा वर्षमा ३६५ दिन हुन्छन् । चन्द्रको गतिलाई  आधार मानेर गणना गर्दा वर्षमा ३५४ दिन हुन्छन् । यसरी हेर्दा सूर्यलाई  आधार मानेर गणना गर्दाभन्दा चन्द्रमालाई आधार मानेर गणना गर्दा एक वर्षमा ११ दिनको कम हुन्छन् । यही क्रमले तीन वर्षमा ३३ दिन कम हुन्छन् । यी ३३ दिन तीन वर्षपछि थप महिना हुन्छ । यो थप ३३ दिन एक महिनामा थपिन्छ, जसलाई अधिकमास नाम दिइएको छ । चन्द्रमाका आधारमा गणना गरिने पात्रोमा ३२ महिना १६ दिन ८ घण्टाको गणना पश्चात् बन्ने वर्षको अतिरिक्त भाग नै अधिकामास हो । यसले खाडल पूरा गर्ने वा सूर्य र चन्द्र वर्षबीच सन्तुलन सिर्जना गर्न अधिकमासको भूमिका महत्त्वपूर्ण छ । यसो गर्नाले सूर्य पात्रो र चन्द्रपात्रोका आधारमा निर्धारण गरिने चाडपर्वको मितिहरूमा कुनै परिवर्तन हुँदैन र तिथिमितिमा एकरूपता रहन्छ, साथसाथै अधिकामाका कारणले समयावधिको गणनालाई व्यवस्थित बानाउन मद्दत गर्दछ ।

 

अधिकमासको पौराणिक आधार के छ ?

पुराणका आधारमा एकपटक दैत्यहरूका राजा हिरण्यकश्यपले अत्यन्तै कठोर तपस्या गरेर भगवान् ब्रह्मालाई प्रशन्न गरी अमरत्वको वरदान मागे । यो संसार ईश्वरको इच्छाले क्षणभरमा नै समाप्त हुने र म स्वयं पनि अमर छैन । त्यसैले तिमीलाई अमरत्त्वको वरदान प्रदान गर्दिनँ । यसको बदलामा अरु कुनै वरदान माग, तिमीलाई त्यो उपलब्ध गराउँला । ब्रह्माको यस्तो वचन सुनेपछि  हिरण्यकश्यपले ब्रह्माजीसँग तत्कालै संसारको कुनै पनि पुरुष, महिला, पशु, देवता वा राक्षसले मलाई मार्न नसकोस् र वर्षको १२ महिनामा पनि मेरो मृत्यु नहोस् । मेरो मृत्यु न दिउँसो न रातमा होस् । म न कुनै हतियारले मरौँ । मलाई न घरभित्र मार्न सकुन् न घरबाहिर मार्न सकुन् भनेर वरदान दिन आग्रह ग¥यो । ब्रह्माजीले पनि तथास्तु भनिदिनु भयो । वरदान पाउने बित्तिकै हिरण्यकश्यपले आफूलाई अमर तथा यस संसारमा भएका सबैभन्दा ठूलो मान्न थाल्यो । यसरी संसारलाई यस राक्षसले भयभित बनाएको हुँदा यसबाट छटकारा दिनका लागि  भगवान् विष्णुले नरसिंह(आधा मान्छे तथा आधा सिंह) अवतार धारण गरी अधिकामसमा प्रकट हुनुभयो । आफ्नो काखमा राखेर ब्रह्माजीबाट प्राप्त वरदानलाई कुनै पनि तरिकाले प्रभावित नपर्ने गरी तिखानङ्गका माध्यमले मृत्युको द्वारमा पठाउनुभयो। यसरी संसारलाई भयभीत पार्ने नकारात्मक प्रवृत्तिको अन्त्य गर्नका लागि भगवानको अवतार भएको महिनाका रूपमा अधिकमासको महत्त्व पुराणमा विशेषरूपमा चर्चा गरिएको छ ।

 

अधिकमासको महत्त्व

पूर्वीय खोज र अध्ययनले यो संसार पाँच तत्व (पृथ्वी, जल, अग्नी, वायु र आकाश ) मिलेर बनेको छ भन्ने कुरालाई प्रमाणित गर्छ । यस संसारमा रहेका प्रत्येक प्राणीहरू यिनै पाँच तत्त्वबाट बनेका हुन्छन् । धार्मिक कार्यका साथसाथै दान, ध्यान, योग आदिको माध्यमबाट आफ्नो शरीरमा रहेका यी पञ्चमहाभूतहरूको उजागर गर्नु मानवीय जीवनको वास्तविक उद्देश्य हो । सम्पूर्ण ग्रहरूको सम्यक् योग, प्रकृतिको तादात्म्य आदिलाई केन्द्रमा राखेर साधना गर्नाले मञ्चमहाभूतहरूको यथाशीग्र सन्तुलन कायम हुने हुँदा सूर्य र चन्द्रको गति व्यवस्थित गर्नका लागि निर्माण भएको अधिकमासमा गरिने साधनाले तुलनात्मकरूपामा छिटै ऊर्जा प्राप्त हुने प्रमाणहरू शास्त्रमा पाइन्छन् । यस महिनामा देवताहरू विशेष सक्रिय हुने र प्रार्थना स्वीकार गर्ने पौराणिक मान्यता छ । यस समयमा मानिसहरूले आध्यात्मिक मार्गदर्शन खोज्ने र धार्मिक अनुष्ठानहरू सञ्चालन गर्ने तथा सेवाका कार्यहरू गर्नु पर्दछ । यसरी सधना र सेवाका माध्यबाट सन्तुलित जीवनयापनको प्रयास गर्ने समयलाई अधिकमास भन्दा अत्युक्ति हुँदैन । प्रत्येक तीन वर्षमा आउने अधिकमासमा गरिने पवित्र कर्मले शारीरिक पवित्रता प्राप्त गरिन्छ यसकै माध्यमले मानिसमा नयाँ आध्यात्मिक ऊर्जा प्राप्त हुने महत्त्व ग्रन्थहरूमा बताइएको छ ।

 

अधिकमासमा के गर्नु पर्छ ?

अधिकमासमा गरिने पुजाको आफ्नै महत्व छ । यस महिनामा ब्रह्मचर्य नियमलाई पूर्णतया पालना गर्नु पर्दछ । खाटमा नसुती भुइँमा विस्तारा लगाएर सुत्ने र एकछाकमात्र खाना खाने पुरुषोत्तम भगवानको महिमा बताइएका कथा पढ्ने, सुन्ने र सुनाउनाने कार्य गर्नाले धेरै आध्यात्मिक लाभ मिल्दछ । यसै महिनामा तुलसीको विशेष तरिकाबाट पूजा गर्नाले अनन्तकालसम्म वैकुण्ठमा बास हुने पौराणिक आधार पाइन्छ । श्रीकृष्ण चरित्र, श्रीमद्भागवद्गीता, श्रीरामकथाको श्रवण तथा भगवान् विष्णुको पूजा गरिनु अत्यन्तै फलदायी मानिन्छ । यस समायमा गरिएको जप, तपस्या र दानबाट असीम पुण्य प्राप्त हुन्छ । यो महिना दान गरेको एक रुपैयाँले पनि सयगुणा फल दिने शास्त्रीय प्रमाणका आधारमा पनि यो महिना दान, ध्यान र साधनाको सुन्दर समय हो । दीपदान गर्नाले ऐश्वर्य प्राप्त हुने, वस्त्र दान गर्नाले मोक्ष प्राप्त हुने तथा मालपूवा निर्माण गरेर उपयुक्त पात्रलाई दान गर्नाले चिन्तित् सम्पूर्ण मनोकामना प्राप्त हुनुका साथै भगवानको सायुज्य प्राप्त हुन्छ । त्यसैले अधिकमासमा सकेसम्म प्रत्येक दिन नभए पनि एकदिन मालपुवा निर्माण गरी चरेसको थालमा राखेर उपयुक्त पात्रलाई दान दिनुपर्दछ ।

 

के गर्न हुँदैन ?

पञ्चाङ्गअनुसार तिथी, योगकरण, नक्षत्रका अतिरिक्त सबै महिनाका कुनै न कुनै देवता हुन्छन् र त्यसमयमा गरिने शुभकार्यको फल तद्देवताले प्रदान गर्दछन् तर पुरुषोत्तम महिनाका कुनै पनि निश्चित स्वामी हुँदैनन् त्यसैले सबै शुभकार्य (विवाह,व्रतबन्ध आदि) र पितृकार्य( श्राद्ध आदि) यस महिनामा गरियो भने निष्फल हुन्छन् । अतः यस समयमा कुनै पनि शुभकार्य र पितृकार्य गरिनु शास्त्रीय मानिँदैन । नित्य गरिने पुजा महिनाको उपाशना,दैनिक पुजा, विशेष साधना गर्नका लागि यो समय उपयुक्त मानिन्छ । बिबाह गरेको पहिलो पटक मलमास परेमा श्रीमान् श्रीमती दुबैले नियम पूर्वक महिना दिन बार्नुपर्दछ ।

(लेखक सुरेशचन्द्र रिजाल ज्योतिषी तथा वास्तुविद् हुन् ।)

कमेन्टहरु
Loading...