तिब्बत निर्यात हुन थाल्यो नेपालकाे घाँस

काठमाडौं । राष्ट्रिय जन कंग्रेसको निमन्त्रणामा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले गएको साता गरेको चीनको औपचारिक भ्रमणपछि त्यसका सकारात्मक परिणामहरु आउन थालेका छन ।

 

अध्यक्ष तिमिल्सिना र चीनको उच्च नेतृत्वका बिचमा भएका छलफलका बिषयहरुमा चीनले सकारात्मक चाँसो राख्दै कार्यान्वयनका लागि पहल थालेको अध्यक्षको सचिवालयले जनाएको छ ।

 

नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष तिमिल्सिना जेठ २७ देखि असार ६ गतेसम्म दश दिन चीनको भ्रमण गरेका थिए ।

भ्रमणका क्रममा छलफलमा बढी जोड दिइएको पोखरा विमानस्थलमा नियमित उडान गर्ने र नेपालका कृषिजन्य उत्पादनलाई चीनमा सहज प्रवेश दिने बिषय चीनले कार्यान्वयन गर्न थालेको हो । चीनको सिचुवान प्राप्तको छेन्दुबाट पोखरा नियमित उडान सञ्चालन गर्ने बिषयमा नेपाली पक्षसँग छलफलका लागि सिचुवान एयरलायन्सका अध्यक्ष मा जून लुन नेपाल आउन लागेको जानकारी चीनियाँ दुतावासले दिएको छ ।

 

नेपालको नागरिक उड्डयन प्राधिकरणसहितका निकाय तयार भएमा छिट्टै नियमित उडानका लागि सिचुवान एयरलायन्स तयार देखिएको हो । नेपालले त्यसका लागि आवश्यक तयारी गर्न सिचुवान एयरलायन्सले आग्रहसमेत गरेको छ ।

 

यसैगरी चीनको स्वशासित क्षेत्र तिब्बतमा नेपालमा उत्पादन गरिने तयारी घाँस (साईलेस) निर्यातका लागि चीन सकारात्मक भएको छ । घाँस उत्पादक र तिब्बत सरकारका बिचमा सहमति समेत भैसकेको छ भने दुई सातापछि घाँस निर्यात थालिने ब्यबसायीले जानकारी गराएका छन । तिब्बतमा चौंरीका लागि यो घाँस प्रयोग हुन्छ ।

 

अध्यक्ष तिमिल्सिना र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीका बिच भएको भेटवार्ताका क्रममा सिधा उडानको बिषय उठान भएपछि  असार ६ मा चार्टड उडान भैसकेको छ । अध्यक्ष तिमिल्सिनाले पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवामा समेत चीनका बिभिन्न शहरबाट सिधा उडान गर्न आग्रह गरेका थिए ।

अध्यक्ष तिमिल्सिनाको आग्रह अनुसार नै पोखरामा भएको ड्रागन बोट फेस्टिबलका सहभागीहरु नियमित उडानबाट काठमाण्डौ आउने तयारीमा रहे पछि चीनले सिचुवान एयरलायन्सको बिमान चार्टड गरेर नेपाली संसदीय प्रतिनिधी मण्डलका सदस्य र खेलाडीहरुलाई पोखरा पठाएको थियो ।

कमेन्टहरु
Loading...