गण्डकी प्रदेशस्तरिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि कास्कीले जित्यो

पोखरा  । गण्डकी प्रदेशस्तरिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि कास्कीले जितेको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा नवलपुरलाई १८ रनले पराजित गरेको हो । उपाधि जिते संगै कास्कीले ट्रफीका साथ नगद १ लाख हात पार्न सफल भएको छ  भने उपविजेता रहेको नवलपुरले नगद रु ५० हजार प्राप्त गरेको छ ।

नवलपुरले टस जितेर व्याटिङको निम्तो दिएको कास्कीलाई आफ्नो होम ग्राउण्डमा पुरै २० ओभर खेल्दै ८ विकेटको क्षतीमा १४२ रन बनाएको थियो । खेलमा अभिषेक थापाले २५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै अविजित ३६ रनको पारी खेले । त्यस्तै सोहेल कुँवरले ३२ बलमा ३३ रन, किरण पौडेलले २१ र कृष्ण पौडेलले व्यक्तिगत १० रन बनाए ।

नवलपुरबाट बलिङ गरेका अपराजित पौडेलले ४ ओभरको स्पेलमा १९ रन खर्चिएर ३ विकेट लिए । कैलाश पगेनीले २ विकेट हात पार्दा शिसिर भुसाल र विशाल पौडेलले समान १–१ विकेट लिएका थिए ।

यता १४३ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको नवलपुर १२४ रनमा समेटिन पुग्यो । नवलपुरलाई व्याकफुटमा धकेल्न कास्कीका सिव्रिन श्रेष्ठको बलिङ रह्यो । उनले ओपनर रोविन तिमिल्सिनालाई डक आउट पेभिलिएन फर्काए पछि नवलपुरले सम्हालिने मौका नै पाएन । सिव्रिनले नवलपुरका सन्देश बस्नेतलाई व्यक्तिगन १३ रनमा आउट गरे । यता अभिषेक थापाले समेत २ विकेट झारे । उनले प्रोमिस अर्याललाई १७ र रिजन काफ्लेलाई १९ रनमा नै पेविलिएनको बाटो देखाए । त्यस्तै नितेष गिरीले नवलपुरका लागि सर्वाधिक ३३ रन जोडेका गोविन्द विकालाई मुस्कान थापाबाट क्यााच आउट गराए । उनले नै विशाल पौडेल ३ रनमा किरण पौडेलबाट क्याच आउट गराउन पुगे ।

गत जेठ १४ गतेबाट सुरू भएको प्रतियोगितामा म्यान अफ दि सिरिजको उपाधि नवलपुरका अपराजित पौडले घोषित भएका छन् । उनले ट्रफीसहित नगद ४ हजार हात पारे । उनी नै बेष्ट बलर घोषित भए । वेष्ट व्याट्म्यान कास्कीका मुस्कान थापा बन्न सफल भए । उनीहरुले जनही नगद २–२ हजार हात पारे । फाइनल खेलको म्यान अफ दि म्याच भने कास्कीका अभिषेक थापा भएका छन् । उनले नगद १ हजार प्राप्त गरे ।

प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरुलाई कार्यक्रमका संयोजक एवं प्रदेश खेलकुदका कार्यकारी सदस्य ऋषीराम गौतम र कास्की क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा कास्की, तनहुँ, नवलपुर, गोर्खा, पर्वत, स्याङजा, बागलुङ र म्याग्दीको गरी ८ टिमको सहभागिता रहको थियो ।

कमेन्टहरु
Loading...