२२ वर्षे पत्रकारिताको यात्रालाई बिट मार्दै पत्रकार पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

पोखरा । २२ वर्षदेखि पत्रकारितामा योगदान गरिरहेको पोखराका सक्रिय पत्रकार उत्तम पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेबाट सदस्यता लिँदै पत्रकारिताको यात्रा टुङ्गीएको र राजनीतिक यात्रा शुरु भएको घोषणा गरेका हुन् ।

२२ वर्षसम्म पत्रकारिता मार्फत समाजका लागि योगदान गरिएको र अव जनतासँगै रहेर हातेमालो गर्न राजनीतिमा प्रवेश गरेको पौडेलको भनाई छ । साथै अहिले नेपालको राजनीतिक अवस्थाले पनि आफु राजनीतिमा होमिएकाे उनी बताउँछन् ।

राजनीतिमा जानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी नै किन भन्ने प्रश्नमा उनी भन्छन् –‘हिजोका पुराना भनिएका राजनीतिक दलहरुबाट केही नयाँ कुरा आउनेवाला छैन, यीनीहरुले समयको माग अनुसार, जनताको माग अनुसार अगाडी बढ्न सकेनन् र सक्दैनन् । अव पनि १८ औं शताब्दी जसरी पार्टी चल्न थालेसी जनताले के आश गर्नु ? त्यसैले २१ औं शताब्दी अनुसारकै नयाँ भिजन बोकेको राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएको हो ।’

पुरानो सोँच, गुट उपगुटबाट टाढा र जनताकै लागि काम गर्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी नै भएकाले आफुले रास्वपाको सदस्यता लिएको उनको भनाई छ ।

‘युवा नेतृत्वमा आउनुपर्छ भन्ने मान्यता पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा रहेको छ । नेपालको समृद्धिको लागि राष्ट्रिय स्वतन्त्र पार्टीनै अहिलेको आवश्यकता भएकाले मैले सदस्ता लिएको छु र अव मेरो जीवन देश र जनताको लागि सक्रिय राजनीतिमा हुनेछु ।’ –गन्थनसँग कुरा गर्दै उनले भने ।

२२ वर्षअघि माछापुच्छ्रे एफएमबाट पत्रकारिता सुरु गरेका पौडेल पछिल्लो समय न्युज २४ फोर हुँदै ग्यालेक्सी फोकेमा गण्डकी ब्युरो प्रमुखका रुपमा कार्यरत थिए ।

 

कमेन्टहरु
Loading...