पाेखरा वडा २८ को नीति तथा योजना कार्यक्रम माथी छलफल

पोखरा । पोखरा महानगरपालीका वडा नं २८ले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा योजना तर्जूमा माथी छलफल सुरु गरेको छ ।

छलफलका क्रममा सहभागिहरुले भौतिक पुर्वाधारका साथसाथै मानविय विकासका लागी वजेट विनियोजन गर्न सुझाव दिएका छन् ।

महानगरवासिले प्राप्तगर्नुपर्ने न्युनतम आधारभूत सुविधा समेत आँफूहरुले अझै प्राप्त गर्न नसकेको भन्दै वडावासिले कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरका प्रमुख धनराज आचार्यसँग गुनासो गरे ।

महानगरपालिकाले प्रत्यक वडामा १ करोड ९७ लाखको सिलिङ निर्धारण गरेपनि चालु आर्थिक वर्षमा स्थानीय, प्रदेश र संघ गरी तीन तहको सरकारवाट प्राप्त १७ करोड रुपयाँ वडाको भौतिक विकास निर्माणमा खर्च भएको वडाध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिए ।

महानगरपालिकाले निर्धारण गरेको वजेटको सिलिङले स साना टुक्रे योजनामात्र छनोट गर्दा ग्रामिण परिवेशका वडाहरुमा जनअपेक्षा अनुरुपका कामहरु हुन सकेका छैनन ।

चालु आर्थिक वर्ष २०७९/८० मा वडामा भएगरेका कामहरुको प्रगती प्रस्तुत गर्दै वडाध्यक्ष श्रीकृष्ण आचार्यले आगामी आर्थिक वर्षमा सिमित साधन स्रोतको उच्चतम प्रयोग गर्दै प्राथमिकताका आधारमा योजना छनौट गरिने वताए । असहाय व्यक्तिका लागि आँफूहरुले संचालनमा ल्याएको विमा कार्यक्रम उत्कृष्ट वनेको भन्दै उनले उक्त कार्यक्रमलाई निरन्तरता दिंदै थप अति विपन्न व्यक्तिहरुलाई स्वास्थ्य विमा कार्यक्रम गराउने जानकारी दिए ।

विभिन्न ३१ वुँदामा आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्दै अध्यक्ष लामिछानेले खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनका कार्यक्रमहरुलाई प्राथमिकतामा राखेका छन् । सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरीलाई सार्वजनिक स्कुलमा पढाउन पहल गर्ने, सरकारी स्कुलको गुणस्तर सुधार गर्ने, भैरव गुठीको जग्ग खोजी गरी व्यवस्थापन गर्ने, वडाको आवधिक योजना र पर्यटनको गुरुयोजना वनाएर काम गर्ने, युवाहरुलाई व्यवसायीक सीपमुलक तालिम दिएर उद्यमशिल वनाउने, कृषि उत्पादन वढाउने र वजारीकरणको व्यवस्था गर्ने, खानेपानीका स्रोतहरुको खोजिगरी सर्वशुलभ खानेपानीको व्यवस्था गर्ने, सार्वजनीक जग्गाको अभिलेख राख्ने, पर्यटकिय क्षेत्रहरु कालिका मन्दीर, भैरवकोट, ठूलाकोट चिन्तेडाडा, माझठानामा रहेको मनकामना मन्दीर, मैदी ताल लगाएतका पर्यटकीय क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न हाईमाक्स लाईट जडान गर्ने, पशु÷वालि विमा कार्यक्रम व्यवस्थित गर्ने, मानवअधिकारको संरक्षण र संवद्र्धनमा जोड दिने लगाएतका कार्यक्रमहरु वडाध्यक्ष लामिछानेले अगाडी सारेका छन् ।

कार्यक्रममा पोखरा महानगरका प्रमुख धनराज आचार्यले आगामि आर्थिक वर्षमा खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर साँझेदारी कार्यक्रम संचालन गर्न लागेको वताए । उनले महानगरले संचालन गर्ने योजना ५० लाख भन्दा साना योजना नहुने जानकारी दिए । शिक्षालाई व्यवस्थित गर्दै लैजाने नीति अन्तर्गत यो वर्ष महानगरमा रहेका सामूदायीक विद्यालयमा ८ हजार विद्यार्थी थपिएको भन्दै महानगरका वडाहरुमा भौतिक पुर्वाधारको निर्माण, मानविय विकास र प्रशासन सुधार तथा शुसासन र पोखरी लगाएतका सार्वजनीक संपत्ति संरक्षणमा ध्यान दिने वताए ।

महानगरका कार्यपालिका सदस्य निर्मल दियालीले भौगोलिक विकटता भएका ग्रामिण वडारुमा परिणाम आउनेगरी विकास वजेट विनियोजन गर्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका महासमिति सदस्य कृष्ण केसीले सामाजिक न्यायको शिद्धान्तका आधारमा पोखरा महानगरको सुगम र दुर्गम भागलाई छुट्याएर विकासका योजना छनोट गर्न सुझाव दिए । एमालेका वैनवहादुर गुरुङले विजुलीको नाङगो तार र शडक व्यवस्थापन हुन नसक्दा वडावासिले शास्ती खेप्नु परेको वताए । माओवादी केन्द्रका श्याम केसीले प्राथमिकताका आधारमा व्यवस्थित योजना छनोट गर्न सुझाव दिए ।

वडा सदस्य डाल्डादेवी भुजेलले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा विष्णु सुवेदी, शम्भुराम पाण्डे, माधव तिवारी, केदार अधिकारी लगाएतले वडागत योजनाका वारेमा धारणा राखेका थिए । कार्यक्रमको संचालन वडा सदस्य विरेन्द्र भण्डारीले गरेका थिए ।

कमेन्टहरु
Loading...