पोखराको मालेपाटनमा १० लाख लागतमा बन्यो बास्केटबल कोर्ट

राजु गिरी, पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ मा अवस्थित मालेपाटन खेलमैदानमा बास्केटबल कोर्ट निर्माण भएको छ । १० लाख ३४ हजार ५२५ रुपैयाँ लागतमा शुरुवाती चरणको बास्केटबल कोर्टको आज उद्घाटन गरिएको छ ।

भूतपूर्व गोर्खा सैनिक परोपकार समितिको पहल र वडा कार्यालय ५ को सहकार्यमा उक्त कोर्ट निर्माण गरिएको हो । वडा कार्यालयको ७ लाख रुपैयाँ र बाँकी रहेको नपुग रकम भूतपूर्व गोर्खा सैनिक परोपकार समितिद्वारा खर्च गरि कोर्ट निर्माण गरिएको छ ।

नवनिर्मित कोर्टको उद्घाटन गर्दै पोखरा वडा ५ का वडाअध्यक्ष विष्णुप्रसाद बरालले वडा ५ बाट पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका बास्केटबल खेलाडी उत्पादन गर्न कोर्टको भूमिका रहने बताए । ‘वडाले खेल क्षेत्रलाई विशेषरुपमा हेरिरहेको छ । यस मालेपाटन खेलमैदानलाई गुरुयोजना बनाई उत्कृष्ट मैदानको निर्माणको चरणमा छौं । साथै धेरै भन्दा धेरै खेल प्रतियोगिता आयोजना गरि खेल प्रति आकर्षण र उत्कृष्ट खेलाडी उत्पादनमा हाम्रो सधै साथ रहनेछ ।’ –वडाध्यक्ष बरालले भने ।

कार्यक्रममा भूतपूर्व गोर्खा सैनिक परोपकार समितिका अध्यक्ष हेनरी क्याप्टेन हिराबहादुर क्षेत्रीले पूर्व सैनिक मिलेर खेल क्षेत्रलाई अझ मजबुत बनाउन कोर्ट निर्माण गरिएको बताए । साथै कोर्ट संरक्षणका लागि सबैको दायित्व भएको उनको भनाई थियो ।

समितिका संस्थापक अध्यक्ष सुबेदार मेजर हेनरी क्याप्टेन रुद्रबहादुर थापा (रुद्र गौतम) ले पोखरा बास्केटबलमा पछाडी परिरहेको हुँदा स्ट्याडर्ड आधुनिक कोर्ट निर्माण आवश्यकता महसुस भएकाले मालेपाटनमा कोर्ट निर्माण गरिएको बताए ।

कार्यक्रममा वडा ५ का निवर्तमान अध्यक्ष धनबहादुर नेपाली, श्री बाराही माविका प्राचार्य शिवप्रसाद भण्डारी, एस एम हेनरी क्याप्टेन कुलबहादुर क्षेत्रीलगाएतले शुभकामना मन्तव्य राखेका थिए । साथै समितिका कोषाध्यक्ष मिन बहादुर केसीले कोर्टको आयव्यय सार्वजनिक गरेका थिए । उदघाटन कार्यक्रममा स्वागत मन्तव्य मिना मल्लले राखेकी थिइन् भने सञ्चालन सुर्यबहादुर थापाले गरेका थिए ।

कोर्ट निर्माणसँगै चेञ्जीङ रुम, आधुनिक शौचालयलगाएतका काम निर्माण गरिदै लैजाने समितिले जनाएको छ । उक्त खेल मैदानमा अभियान युवा क्लबको पहल, वडा कार्यालय र खेल मन्त्रालयको सहकार्यमा चेञ्जीङ रुमसहितको भलिबल कोर्ट निर्माण भइसकेको छ ।

 

 

कमेन्टहरु
Loading...