महिला बास्केटबल खेल तनहुँमा गर्न माग

पोखरा । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला बास्केटबल खेल तनहुँ जिल्लामा गर्न जिल्लावासीले माग गरेका छन् । प्रतियोगिताको खेल तालिका प्रकाशन गर्दा तनहुँमा कुनै पनि खेल नपरेपछि उनीहरुले यस्तो माग गरेका हुन् । खेल मैदान व्यवस्थापन समिति तथा विभिन्न प्राविधिक टोलीले खेल स्थलको अवलोकन गर्दापनि तनहुँमा खेल नपरेकोमा उनीहरुको गुनासो छ । यस्तो गुनासो आएपछि सोमबार खेल मैदान व्यवस्थापन उपसमिति संयोजक तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य समेत रहेका राजेशकुमार गुरुङ दमौली पुगेका थिए । दमौली पुगेर गुरुङले गण्डकी प्रदेशका पूर्व मन्त्री हरिबहादुर चुमान, व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने सहितको उपस्थितिमा छलफल गरें ।

छलफल मार्फत व्यास नगरपालिकामा रहेको निर्मल माध्यामिक विद्यालय प्राङ्गणमा भएको बास्केटबल कोर्टमा केही भौतिक पुर्वाधार थप गरि खेल सञ्चालन गर्न उपयुुक्त हुने निष्कर्ष निकालिएको छ । खेल मैदान व्यवस्थापनको लागि आवश्यक प्रवन्ध व्यास नगरपालिकाले मिलाउने मेयर न्यौपानेले प्रतिवद्दता जनाए । ‘बास्केटबल खेल सञ्चालन गर्न आवश्यक पुर्वाधार व्यवस्थापन गर्न नगरपालिका तयार छ’ न्यौपानेले भने । नगरपालिका खेल सञ्चालन गर्न पहिल्यैदेखि तयार भएको र यो विषयमा नमिलेका कुरा केही नरहेको उनले दावी गरे । ‘नमिलेको कुरा केही छैन, मिलेको छ, आज छलफल भयो अब प्रक्रिया अगाडि बढ्छ’ उनले थपे । ‘स्टमेट’बाट आउने खर्च गर्न नगरपालिका तयार भएको यसमा शंका नगर्न उनले आग्रह गरे ।

गण्डकी प्रदेशका पूर्व मन्त्री चुमानले प्रकाशित खेल तालिकामा तनहुँ नपरेपछि आफुलाई अचम्म लागेको बताए । तनहुँले कम्तिमा एक खेल पाउनेमा आफुहरु विश्वस्त रहेको भएपनि खेल तालिका प्रकाशित हुदा तनहुँ नपर्दा दुःख लागेको सुनाए । अब महिला बास्केटबल जुनसुकै हालतमा तनहुँमा हुनुपर्नेमा उनको जोड थियो । ‘आवश्यक खर्च गर्न नगरपालिका तयार छ, यो ठूलो विषय हैन, आजबाट कुरा सोझिएको छ, आवश्यक सहयोग प्रदेश सरकार मार्फत म पनि भरथेक गर्छु’ चुमानले भने ।

उनीहरुका कुरा सुनेपछि खेल मैदान व्यवस्थापन उपसमिति संयोजक गुरुङले तनहुँले राखेको इच्छाको बारेमा राखेप सदस्य सचिवसँग कुरा गर्ने बताए । ‘महिला बास्केटबल पृथ्वीनारायाण क्याम्पसमा हुने भनेर तालिका प्रकाशित भइसकेको छ, तनहुँले व्यवस्थापन गर्छ भने सदस्य सचिवसँग कुरा गर्छु, ठाउँमा कुरा पु¥याउछु’ उनले भने ।

एक हप्ता भित्र बास्केटबलकोर्ट तयार भए खेल सञ्चालन गर्न सम्भव हुनसक्ने उनको भनाई थियो । ‘निर्मल माविमा रहेको बास्केटबल कोर्ट एक हप्ता भित्र तयार पार्ने काम भयो भने त्यो सम्भव हुन सक्छ तयसैले आजबाटै ग्राउण्ड मर्मत र खेलाडीको व्यवस्थापन गर्नको लागि काम थाल्नुहोस्’ गुरुङले भने । नगरपालिकाका मेयरले गरेको प्रतिवद्धताले आफुलाई उर्जा थपेको भन्दै उनले प्रतिवद्धतालाई कार्यान्वयन गरेर देखाउन आग्रह गरे ।

इञ्जिनियर अनिल अधिकारीले महिला बास्केटबलको लागि निर्मल माविको कोर्ट उपयुुक्त रहेको बताए । ‘बास्केटबलका लागि कोर्ट उपयुक्त छ, केही मर्मत तथा अस्थायी संरचना यहीँ भएको श्रोत साधन प्रयोग गरेर बनाउन सकिन्छ’ उनले भने ।

जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले स्थानीय सरकार लगायतको सहयोगमा तनहुँ खेल सञ्चालन गर्न तयारी अवस्थामा रहेको बताए । नवौैं राष्ट्रिय खेलकुद प्रतियोगिता यहीं असोज २८ गतेबाट कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुदैछ ।

कमेन्टहरु
Loading...