मुटुरोगी उर्मिला लामाको मुटुको भल्भको सफल प्रत्यारोपण

पोखरा, ८ माघ/मुटुरोगले ग्रस्त पोखरा ७ माछापुच्छ«ेटोलकी २१ वर्षिया उर्मिला लामाको आईतबार काठमाण्डौमा सफल मुटुको भल्भ प्रत्यारोपण भएको छ । काठमाण्डौँ बाँसबारी स्थित मनमोहन मेमेरियल अस्पताल काठमाण्डौका डा. भगवान कोईरालाले लामाको मुटुको भल्भको सफल प्रत्यारोपण गरेका हुन् । मुटुरोगी भएपनि चरम आर्थिक अभावमा गुज्रिएकी लामाको उपचार करिब पाँच महिना यताको सहयोग संकलन अभियानबाट संकलित रकमबाट मात्र संभव भएको हो । लामाको सहयोगका लागी विगत पाँच महिनादेखि कलाकार मिलन शेरचनले अभियान चलाएकी थिईन् । लामालाई आर्थिक सहयोगका लागी मिलन शेरचनको अगुवाईमा संचालनमा भएको पाँच महिने अभियानमा १ लाख ६० हजार रुपैँया संकलन भएको थियो । त्यस्तै यो बिचमा शेरचनकै आग्रहमा जापानबाट हिक्मत गौचनको सक्रियतामा ३० हजार पाँच सय ३७ रुपैँया लामाको उपचारको लागी सहयोग प्राप्त भएको थियो ।

मुटु रोगी लामाको आर्थिक अवस्था कमजोर भएको पाएपछि मुटुको भल्भ फेर्नका लागी लाग्ने चिकित्सिय खर्च पनि डा. कोईरालाले नलिएको उनले जानकारी दिईन् । लामाको मुटुको भल्भको सफल प्रत्यारोपण भएपश्चात सहयोग संकलन अभियान पनि रोकिएको उनले शेरचनले बताईन् । साथै यो बिचमा लामाको मुटुको भल्भ फेर्नका लागी सहयोग गर्ने सम्पुर्ण हातहरुलाई उनले धन्यवाद ज्ञापन समेत गरेकी छन् ।

मुटुरोगी लामाको मुटुको भल्भको सफल प्रत्यारोपण भएपछि उनको परिवारमा समेत खुशियाली छाएको छ । मुटुरोगी लामाकी आमा शुसिला लामाले पनि आफ्नो छोरीको उपचारका लागी निरन्तर सहयोग उठाउनका लागी खट्ने कलाकार मिलन शेरचनले आफुहरुलाई जिवनभर तिरेर पनि नसकिने ऋण लगाएकोमा कृतज्ञ भईन् ।

यता शेरचनले भने आफुले मानवताको नाताले लामाको उपचार खर्च जुटाउनका लागी सहयोग गरेको बताएकी छन् । दुख पर्दा नै मान्छेको सहयोग चाहिने भएकोले यस्तो अवस्थामा हरेक मानिसले एकले अर्कालाई सहयोग गर्नुपर्ने पनि उनले बताईन् । आफुले आगामी दिनमा पनि यसरी सहयोगी हातहरु अगाडी बढाउने शेरचनले प्रतिबद्धता समेत गरेकी छन् ।

कमेन्टहरु
Loading...