पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले मिडिया विधेयकका विषयमा धेरै शंका नगर्न आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रको आयोजना र पत्रकार महासंघ कास्कीको संयोजनमा बुधबारदेखि सुरु भएको आधारभूत पत्रकारिता तालिमको उदघाटन गर्दै मन्त्री थापाले मिडिया विधेयक पत्रकारको हित बमोजिम नै आउने बताएका हुन् ।
‘मिडिया विधेयकका विषयमा धेरै शंका नगर्न आग्रह गर्छु’, उनले भने,‘ आमसंचार विधेयक पत्रकारको हित बमोजिम नै ल्याउँछौं,यसमा ढुक्क हुनुहोस् ।’
आम संचार विधेयक अहिले विचाराधिन अवस्थामा रहेको र विद्यायन समितिमा छलफलकै क्रममा रहेको मन्त्री थापाले जानकारी गराए । पत्रकारिता जगतका विज्ञहरुलाई राखेर मिडियामैत्री कानून निर्माण गर्ने पक्षमा आफु रहेको भनाई उनको छ ।
‘विद्यायन समितिका सभापतिसँग मिडिया विधेयकका बारेमा पटकपटक छलफल भइरहेको छ । बालबालिकाको विधेयक अहिले छलफलमा रहेछ र यसपछि आमसंचार विधेयकलाई अगाडि बढाउने प्रक्रियामा हामी छौं ।’,उनले भने ।
आमसंचार विधेयक समयानूकुल पास गरिसकेपछि प्रेस रजिष्टारको कार्यालय पोखरामा रहने र प्रेस रजिष्टारको नियुक्तीका विषयमा पनि देखिएका विवादलाई सम्बोधन गर्ने गरी मिडिया विधेयक ल्याइने मन्त्री थापाले बताए ।
पोखरा लगायत गण्डकी प्रदेशमा संचालनमा रहेका मिडियाहरुले दर्ता, नवीकरणका विषयमा भोग्नुपरेका समस्या समाधानमा प्रदेश सरकार प्रतिबद्ध रहेको भनाई मन्त्री थापाको छ ।
मन्त्री थापाले पत्रकारिता क्षेत्रका लागि अहिलेको सरकार सकरात्मक रहेको बताए । पत्रकारका हकहित, क्षमता विकास र संरक्षणका लागि बजेट विनियोजन समेत सकरात्मक रहेको उल्लेख गरेका छन् । पत्रकार महासंघ कास्कीको भौतिक स्तर उन्नतिका लागि १५ लाख रुपैयाँ विनियोजन गर्नु,प्रदेशका ११ वटै जिल्लामा पत्रकार महासंघको भवन निर्माणका लागि ६० लाख विनियोजन गर्नुले अहिलको सरकार पत्रकार र सम्बद्ध संघसंस्थाको हित बमोजिम नै रहेको जनाउने उनले बताए ।
लोककल्याणकारी विज्ञापनलाई समेत प्रभावकारी ढंगबाट वितरण गर्ने गरी संचार मन्त्रालय अगाडि बढेको उनले बताए ।
मन्त्री थापाले मन्त्रालयका लागि विनियोजित भएको बजेटलाई सदुपयोग गर्ने गरी आफु लागिरहेको उल्लेख गरे । ‘मन्त्रीको रुपमा कार्यभार सम्हालिसकेपछि सम्झन योग्य काम गर्ने पक्षमा म छु । मेरो मन्त्रालयमा विनियोजित भएको बजेटलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्ने जिम्मेबारीका साथ अगाडि बढीरहेको छु । अब छिट्टै रिजल्ट पाउनुहुनेछ’, उनले भने ।
मन्त्रालयमा आफूहरु यत्तिकै नबसेको र जागिर मात्र नखाएको अभिव्यक्ति उनको छ ।
पत्रकारिताको मर्यादा भित्र रहेर काम गर्न पत्रकारलाई मन्त्री थापाको आग्रह छ । पत्रकारिता क्षेत्रबाट पनि विकृति विसंगति मौलाएको भन्दै उनले यसको संरक्षणमा सम्बद्ध संस्था लाग्नुपर्ने उल्लेख गरे ।
कसैको व्यक्तिगत प्रतिष्ठालाई नै भंग गर्ने गरी आधारहीन र एक पक्ष समाचार लेख्न पत्रकारलाई छुट नभएको उनले बताए ।
पत्रकारितालाई समाजसँग जोड्न आवश्यकः धर्मेन्द्र झा
नेपाल पत्रकार महासंघ केन्द्रका पूर्व अध्यक्ष तथा आधारभूत पत्रकारिता तालिमका सहजकर्ता धर्मेन्द्र झाले पत्रकारितालाई समाजसँग जोड्न आवश्यक रहेको बताएका छन् । जनतासँग नजोडिएको पत्रकारिताको काम नभएको भनाई उनको छ ।
झाले हालको नेपाली पत्रकारितालाई नेपाली समाज र जनतासँग जोड्न नसकिएको बताए । उनले मिडियाकर्मी र मिडिया जिम्मेबार हुनुपर्ने आवश्यकतालाई औंल्याए ।
झाले पत्रकारिता क्षेत्रमा चुनौती थपिएको बताए । उनले कताकता पत्रकारिता गर्ने व्यक्ति र संस्था नै थाकेको आभाष भएको उल्लेख गरे । पत्रकारिता क्षेत्रमा नयाँ जनशक्तिको खोज गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । पत्रकारिता युनिर्भरसिटीहरुमा पढाई भएता पनि पत्रकारिता नै गर्ने गरी नयाँ पुस्ता नआएको भनाई उनको छ ।

नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले महासंघ कास्की उत्पादनमुखी पत्रकारिताको पक्षमा रहेको उल्लेख गरेकी छिन् । उनले पत्रकारिताको पेशालाई मर्यादित बनाउने पक्षमा आफू रहेको बताइन् । भण्डारीले आमसंचार विधेयक पत्रकारको हित अनुरुप नै आउनेमा आशावादी रहेको बताइन् । आमसंचार विधेयक फलदायी भएर आउनुपर्ने धारणा उनको छ ।
पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले स्वागत गरेको कार्यक्रममा ४० जना प्रशिक्षार्थीहरुको सहभागिता छ । तालिम आगामी माघ ४ गते सम्म संचालन हुनेछ ।