किसानलाई आकर्षित गर्न ताप्लीमा कृषि मेला

उदयपुर l उदयपुरको ताप्ली गाउँपालिकाले कृषि पेसाप्रति किसानलाई आकर्षित गर्न पहिलोपटक बृहत् कृषि प्रर्दशनी मेला आयोजना गरेको छ । छरिएर रहेका किसानलाई कृषि पेसामा गोलबन्द गर्न र जागरुक बनाउन साहस नेपालसँगको सहकार्यमा गाउँपालिकाले रूपाटारमा पालिकास्तरीय कृषि जैविक विविधता प्रदर्शनी आयोजना गरेको हो ।

मेलामा गाउँपालिकाभरिका किसानले आफूले उत्पादन गरेका कृषिबाली तथा पशुपन्छी प्रदर्शनमा ल्याएका थिए । मेलामा कृषि तर्फ इन्द्रबहादुर शाही र पशुपन्क्षीतर्फ रामबहादुर हमाल उत्कृष्ट किसान घोषणा भएका छन् । प्रदर्शनीतर्फ कृषीबालीअन्तर्गत कृष्णबहादुर तामाङ र पशुतर्फ भीमबहादुर तामाङ र कल्पना खड्का र पन्क्षीतर्फ हरीबहादुर ठकुरी पुरस्कृत भएका छन् । उनीहरूलाई कृषिजन्य सामग्री सहित ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाले प्रमाणपत्र प्रदान गरे ।

गाउँपालिकाले पहिलोपटक आयोजना गरेको कृषि मेलामा उल्लेख्य मात्रामा कृषकहरूको सहभागिता रहेको भन्दै कृषि क्षेत्रको प्रवर्द्धनका लागि गाउँपालिका सदैव लागिपर्ने अध्यक्ष थापाको भनाइ छ ।

किसानको बलबाट मुलुकमा आर्थिक क्रान्ति सम्भव रहेको बताउँदै अध्यक्ष थापाले किसानलाई कृषि पेसामा प्रोत्साहन गर्न स्थानीय सरकारले चाँडै योजना बनाएर अघि सर्ने बताए । उनले किसानलाई कृषीजन्य बस्तु तथा पशुपन्क्षी उत्पादनमा सदैव सहयोग गरेको स्मरण गर्दै बजार व्यवस्थापनका लागि पालिकाले अध्यायन गरिराखेको जानकारी दिए । सहयोगी संस्था साहास नेपालका लिफ्ट परियोजना अधिकृत देवेन्द्र लामालाई पालिका अध्यक्ष थापाले सम्मान गरेका थिए ।

कमेन्टहरु
Loading...