सङ्घर्षमा कलमको वर्ष सम्मान

पोखरा ७ माघ/सङ्घर्षमा कलम साहित्य समाज पोखराले वार्षिक रुपमा वितरण गर्दै आएको वर्ष सम्मान तथा पुस्तक लोकार्पण कार्यक्रम शनिबार पोखरामा सम्पन्न गरेको छ। सोही कार्यक्रमका बीच अग्रज साहित्यकार प्रकाश सायमीको वर्षादी दिनहरु निबन्ध संग्रहको दोस्रो संस्करण र असफल गौतमद्वारा सम्पादित दुर्गाबहादुर शाह बाबा व्यक्तित्व र कृतित्व पुस्तकको लोकार्पण पनि सो अवसरमा अतिथि सरुभक्तले गरे।
कार्यक्रमका अग्रज साहित्यकार सरुभक्तले पोखराको वाङ्मयिक इतिहासमा प्रतिनिधि स्थान ओगटन सफल साधकका बारेमा चर्चा परिचर्चा र सम्मान कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले आगामी दिनमा अझै राम्रा कार्यसम्पादन गरेको हेर्न लालाहित रहेको बताए। उनले भनेः पोखरालाई माया गरेर प्रकाश सायमी काठमाडौं छोडेर आउनु नै पोखरेली स्रष्टाहरुका लागि महत्वपूर्ण रहेको बताउँदै गुलाबको फूललाई जुन नाम दिएपनि त्यो गुलाब नै रहने हुँदा नामले असफल भएपनि उनी कामले सफल भएका छन् भनी असफल गौतमको प्रशंसासमेत गरे।
कार्यक्रमका प्रकाश सायमीले पोखराको मायाले आफूलाई सधै तानिरहेको भन्दै वर्षादी दिनहरु पाठकले अध्ययन गरेपछि शङ्कर लामिछाने, धुस्वाँ सायमी, धु्रवचन्द्र गौतम, गोपाल योञ्जनलगायतका स्रष्टाहरुलाई नजिकैबाट अध्ययन गर्न सक्ने बताए। सायमीले पुस्तक स्रष्टालाई निःशुल्क दिदा जुत्ता राख्ने ¥याकमा फालेको आफूले भेटेपछि दिन छोडेको र वर्षादी दिनहरुको बिक्रीबाट आएको रकम रक्षा नेपाल नामक सामाजिक संस्थालाई प्रदान गर्ने बताए।
सभाध्यक्षको आसनबाट बोल्दै समाजका वरिष्ट उपाध्यक्ष कृष्ण सारथीले बाबा सबैको बाबा भएकोले उहाँ जस्ता स्रष्टा र साधकहरुको संस्थाले सदा उच्च सम्मान र कदर गर्दै आएको बताए।
ऋषिराम रानाभाट प्रतिभा सम्मान तथा प्रोत्साहन पुरस्कार २०६८ बाट सम्मानित स्रष्टा पर्वत निवासी साहित्यकार सरस्वती शर्मा जिज्ञासुले मोफसलमा बसेर साहित्य साधना गर्नु निकै कठिन भएको र आफूले पहिलो पटक पोखराबाट सम्मान ग्रहण गर्दा निकै खुशी लागेको बताइन।
अर्का सम्मानित स्रष्टा सरस्वती श्रेष्ठ सरुले आफू साहित्य यात्राको क्रममा केही गतिशिल हुन नसकेको बेला प्राप्त सम्मानले थप सिर्जनशील बनाएको बताइन।
यसैगरी सम्मानित स्रष्टा बुद्ध गुभाजुले आफूले त्यस्तो उल्लेखनिय कार्य गर्न नसकेपछि संयोजक भएर बाबाको कार्यक्रम सम्पन्न गरेको र सो कार्यको कदर गरेकोमा आभार व्यक्त गरे।
कृतिका सम्पादक असफल गौतमले नेपाली वाङ्मयको क्षेत्रमा दुई चार जना लेखक, साहित्यकार, पत्रकार, नेता र कार्यकर्ता पालेर स्वनामधन्य बन्नेहरुका बीचमा इमान्दार स्रजकको एउटा गतिलो सन्दर्भ सामग्री तयार गरेको बताए। साहित्यकार दुर्गाबहादुर शाह बाबाले आफूले गरेका कार्यहरुको योगदानको कदर गरेर पुस्तकै प्रकाशन गरेकोमा संस्थालाई आभार व्यक्त गरे।

युवा साहित्यकार तथा पूर्व सम्मानित स्रष्टा रुपिन्द्र प्रभावी कटुले सम्मानित स्रष्टाको परिचय राख्दै दुवै नारी स्रष्टाको सम्मान गरेर समाजले उत्कृष्ट नमुना प्रस्तुत गरेको बताए। कार्यक्रममा नेपाल राष्ट्र बैक पोखरा कार्यालयका व्यवस्थापक ऋषिकेश भट्ट, एड्स रोग नियन्त्रण संघ कास्कीका अध्यक्ष विश्वमोहन गौचन, सप्तरड्डी सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष नवराज बराल, अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष सरस्वती प्रतिक्षा, महिला अधिकारका लागि एकल महिला समूहकी अध्यक्ष दुर्गा न्यौपाने, पूर्व सम्मानित स्रष्टा मिलन समीरलगायतले शुभकामना मन्तव्य राखेका थिए। काजी गाउँलेले स्वागत गीतबाट कार्यक्रमको बारेमा प्रकास पारेका थिए भने कार्यक्रको सञ्चालन संस्थाका सदस्य विष्णु वाग्लेले गरेका थिए।

कमेन्टहरु
Loading...