जेसीजको ४८औं राष्ट्रिय महाधिवेशन पुष १ देखि पोखरामा

राजु गिरी, पोखरा । नेपाल जेसीजको ४८ औं राष्ट्रिय महाधिवेशन यहि पुषको १ गतेदेखि ४ गतेसम्म पोखरामा हुने भएको छ । पर्यटकीय नगरी पोखरामा हुने महाधिवेशनको सबै तयारी पुरा भएको आयोजक कमिटीले पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महाधिवेशनमा १ सय ६१ शाखाका शाखा अध्यक्ष र प्रतिनिधि गरि करिब १ हजार ३ सय जना र पर्यवेक्षकहरुको उपस्थिति रहने नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले बताए । खनालका अनुसार पुष १ गते १ बजे पोखराको प्रदर्शनी केन्द्रमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अधिवेशनको उद्घाटन गर्नेछन् । युवाहरुको संलग्नता भएमात्र समाज र राष्ट्रको विकास हुने हुँदा युवाहरुलाई सिर्जनशील, सीपयुक्त उद्यमी र जिम्मेवार बनाउनु आजको आवश्यकता रहेको अध्यक्ष खनालले बताए । साथै युवाहरुलाई सक्षम बनाउन जेसीजको महत्वपूर्ण भूमिका रहेको उनको भनाई थियो ।

पोखरामा हुने अधिवेशनको पहिलो दिन उद्घाटन, वार्षिक साधारण सभा र प्रकरण गोष्ठी कार्यक्रम हुने पोखरा जेसीजका अध्यक्ष किरण केसीले बताए । केसीका अनुसार दोस्रो दिन प्रतिनिधिहरुलाई पोखराका पर्यटकीय क्षेत्रको दृश्यावलोकन, तालिम, सिनेटर बैठक, फेलोसिप कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता र पदाधिकारीहरुको उम्मेदवार प्रतिवद्धता कार्यक्रम रहेको छ । त्यस्तै अधिवेशनको तेस्रो दिन सधारण सभाबाट महत्वपूर्ण निर्णय गरिने केसीले बताए । साथै उनका अनुसार सोही दिन सन् २०२२ का लागि नेपाल जेसीजको नयाँ नेतृत्व चयन गरिनेछ । अधिवेशनको अन्तिम दिन निर्वाचित नयाँ बोर्ड र निवर्तमान बोर्ड बिच संयुक्त बैठक र पत्रकार सम्मेलन हुने पोखरा जेसीजका अध्यक्ष किरण केसीले बताए ।

कमेन्टहरु
Loading...