पत्रकार हत्याराको कारबाहीको माग गर्दै प्रेस चौतारीद्वारा जिल्ला प्रशासनमा धर्ना

पोखरा, ५ माघ/डेकेन्द्रराज थापा सहितका पत्रकारहरुका हत्यारालाई कारबाहीको माग गर्दै पे्रस चौतारी कास्कीले जिल्ला प्रसाशन कार्यालय कास्कीमा शुक्रबार धर्ना दिएको छ । पूर्वान्ह १० बजेदेखि आधा घण्टा विरोध स्वरुप कालो ब्यानरसहित मुखमा कालोपट्टी बाँधेर धर्ना दिईएको हो । थापाको हत्या प्रकरणमा प्रधानमन्त्री तथा महान्यायाधिवक्ताको गैरकानुनी हस्तक्षेपलाई सर्वोच्च अदालतले रोक लगाएपनि मुद्दालाई फितलो पार्ने र दोषीलाई उम्काउने प्रयत्न जारी रहेको विरोधमा मुद्धा अदालत नपुग्दासम्म दबाब कार्यक्रम जारी राख्ने केन्द्रीय समितिको निर्णय अनुसार जिल्ला समितिले धर्ना दिएका हुन् ।

धर्नापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै प्रेस काउन्सिलका सदस्य माधव शर्माले डेकेन्द्रराज थापाको मात्र नभई यो वा त्यो वाहनामा मारिएका सबै पत्रकार पीडित भएका घटनाको छानविन गर्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारहरु पनि राजनीतिबाट टाढा रहनुपर्नेमा जोड दिँदै पत्रकारले आफ्नै मुद्धा लिएर अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य दुर्गा भण्डारीले पत्रकार डेकेन्द्रराज थापाको हत्यारालाई कारबाही हुनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रिविनोद प्रतिकले पत्रकारका हत्यारा जो भएपनि कारबाही हुनुपर्ने बताउँदै पत्रकार सुरक्षाको ज्ञारेण्टी गर्न सरकारसँग जोडदार माग गर्नुभयो ।

स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले पत्रकार पनि दलगत आधारमा विभाजन हुन नहुने भन्दै पत्रकारहरु सबै एक भएर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले अझै श्रमजीवि पत्रकार ऐन कार्यान्वयन हुन नसकेको अवस्थामा दबाबको खाँचो औल्याउनुभयो ।

प्रेस यूनियन कास्कीका पूर्व अध्यक्ष हेमराज बरालले प्रधानमन्त्री बाबुराम भट्टराईले द्वन्द्वकालको आडमा पत्रकारको हत्यारालाई उन्मुक्ति दिनु खोज्नु खेदजनक भएको भन्दै पत्रकारका हत्यारालाई कारबाही गरेरै छाड्नुपर्ने बताउनुभयो ।

क्रान्तिकारी पत्रकार संघ, कास्कीका अध्यक्ष त्रिभुवन पौडेलले द्वन्द्वकालमा मारिएका सबै पत्रकारका हत्यारालाई कारबाही हुनुपर्ने बताउँदै कुनै एक पत्रकार हत्याको विषयलाई मात्र पत्रकारले उचाल्न नहुने बताउनुभयो ।

आदिवासी जनजाति पत्रकार संघ, अनिजका केन्द्रिय उपाध्यक्ष तिलक पुनले प्रधानमन्त्री जस्तो पदमा आसिन व्यक्तिले कानुनी राज्यको खिल्ली उडाउँदै पत्रकारको हत्यारालाई बयान समेत नलिन निर्देशन दिनु अत्यन्त दुःखद भएको बताउनुभयो । कार्यक्रममा संचारिका समूह पश्चिमाञ्चलका उपाध्यक्ष जमुना शर्मा, शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका अध्यक्ष विष्णुप्रसाद बराल लगायतले द्वन्द्वकालमा भएको घटनाका नाममा मानव हत्या जस्तो जघन्य अपराधमा संलग्नहरुलाई उन्मुक्ति दिन नहुनेमा जोड दिनुभएको थियो ।

सभाको समापन गर्दै प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कुँवरले डेकेन्द्रराज थापा सहितका पत्रकारहरुको हत्यारालाई कारबाही नभएसम्म पत्रकारहरुले दबाब दिईरहनुपर्नेमा जोड दिनुभयो । प्रेस चौतारी कास्कीका उपाध्यक्ष सन्तोष अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश गर्नुभएका थियो भने सचिव माधव बरालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...