राष्ट्रपतिद्वारा स्वयम्भूस्थित ज्ञानमाला भजन खलःको उद्घाटन

काठमाडौँ । ‘भूकम्प’बाट क्षतिग्रस्त बनेको स्वयम्भूस्थित ज्ञानमाला भजन खलःको पुनःनिर्माण सम्पन्न गरी राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त भजन खलःको उद्घाटन गरेकी छन् ।

विसं १९९४ मा निर्माण गरिएको उक्त खलःमा स्थापनाकालदेखि नै भजनकीर्तन हुँदै आएको छ । ज्ञानमाला भजनमार्फत भगवान गौतमबुद्धले दिएका उपदेशलाई नागरिकका माझबाट पुर्याइँदै आइएको छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले ज्ञानमाला भजन खलःले ऐतिहासिक विरासत बोकेको र त्यसले समाजलाई जागृत गर्दै आएको बताइन् । उनले ज्ञानमाला भजन खल स्थापनाको प्रमुख उद्देश्य समाजमा शान्तिका प्रर्वधक भगवान बुद्धको शाश्वत उपदेशको प्रर्वधन गरी सद्भाव, सहिष्णुता र सामाजिक चेतना फैलाउनु, नागरिकलाई साक्षर बनाउनु तथा सांस्कृतिक जागरण ल्याएर महिला हकहितका पक्षमा गोलबन्द गर्नु रहेको उल्लेख गरिन् ।

राष्ट्रपति भण्डारीले प्रकृति र संस्कृति एकअर्काका परिपूरक भएको उल्लेख गर्दै जनताका आस्थाका रुपमा रहेका मौलिक सांस्कृतिक धरोहरको सम्र्वधन गर्न र त्यस वरपरका प्राकृतिक सम्पदाको संरक्षण गरी पर्यावरण सन्तुलन कायम राख्न आवश्यक रहेको बताइन् । “प्राकृतिक र सांस्कृतिक सम्पदा स्थलको स्वच्छता र कलात्मक सौन्दर्यतामा जोड दिँदै त्यसको मौलिकपनलाई जोगाउन आवश्यक रहन्छ”, उनले भनिन् “यसका निम्ति यस क्षेत्रमा रहेका प्राकृतिक विज्ञान सङ्ग्रहालय, ज्ञानमाला भजन खलः लगायत संस्थाले प्रकृति र संस्कृतिको संरक्षणमा ध्यान दिनुहुनेछ भन्ने लागेको छ ।” उनले ऐतिहासिक पुरातत्विक सम्पदाका रुपमा रहेको भजन खलःको पुनःनिर्माणमा सहयोग पुर्याउने नेपाल सरकारलगायत सबैलाई धन्यवाद दिइन् ।

कमेन्टहरु
Loading...