नेपाल–बङ्गलादेशबीच पर्यटन प्रर्वधन गर्न छलफल

पोखरा । नेपाल–बङ्गलादेशबीच पर्यटन प्रर्वधनदेखि व्यावसायिक साझेदारी लगायतका विषयमा छलफल भएको छ । पोखरा पर्यटन परिषद्को समन्वयमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले पाटा बङ्गलादेश च्याप्टरको सहकार्यमा ‘नेपाल–बङ्गलादेश पर्यटन प्रर्वधन एन्ड बी टू बी एक्सचेन्ज कार्यक्रम’ पहिलो चरण सम्पन्न भएको हो ।

सो कार्यक्रममा नोभेम्बर १६ देखि २१ सम्म गन्तव्य प्रर्वधनदेखि व्यावसायिक साझेदारी एवं प्रर्वधनका विषयमा छलफलअन्तर्गत पाटाको टोलीले पर्यटन व्यवसायीसँग सो विषयमा छलफल गरेको परिषद्का महासचिव रामचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार कार्यक्रममा पाटा बङ्गलादेश च्याप्टरका अध्यक्ष शहीद हमिद र महासचिव तफिक रेहेमानसहित पर्यटन व्यवसायीको टोलीले पोखराका पर्यटन व्यवसायीसँग छलफल गरेका थिए । उक्त टोलीमा बङ्गलादेशका टुर अपरेटर, मिडिया र युनिभर्सिटीका पाटा स्टुडेन्ट च्याप्टरका प्रतिनिधि पनि सहभागी छन् । क्षेत्रीय पर्यटन प्रर्वधन अन्तर्गत हुन लागेको बी टु बी (बिजनेस टू बिजनेस) सम्झौताका लागि यो टोली नेपाल आइपुगेको हो ।

कार्यक्रमअनुसार नोभेम्बर १७ देखि १९ सम्म पोखराको प्रमुख गन्तव्यको अवलोकन पोखराका पर्यटन व्यवसायी र सरोकारवाला व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम गरिने पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले जानकारी दिए । उनले आर्थिक सम्बन्ध दरिलो बनाउन दुई देशबीचका पर्यटकीय क्षेत्रको प्रर्वधन व्यनवसायिक साझेदारीमा सम्भाव्यताको खोजीका लागि कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे । उनका अनुसार यसपछि काठमाडौँमा बी टू बी कार्यक्रममा ‘डेस्टिनेसन इनसाइड’बारे प्रस्तुतीकरण गरिनेछ ।

बङ्गलादेश पाटा च्याप्टरका अध्यक्ष साहिद हमिदले कोभिडका चपेटामा परेको पर्यटन प्रर्वधनका लागि नवीनतम सोच र अवधारणा खाँचो औँल्याउँदै क्षेत्रीय पर्यटन प्रर्वधनमा जोड दिनुपर्ने बताए । उनले आन्तरिक पर्यटन मुलुककोे मेरुदण्ड भएकाले सन् २०२२ का लागि क्षेत्रीय सहकार्य गरेर अघि बढ्न जरुरी रहेको जनाउँदै अहिलेको प्राथमिकता भनेको ‘सर्ट हल फ्लाइट’ हुने अन्तर्राष्ट्रिय बजार रहेको प्रस्ट्याए । पाटा नेपालले निकट भविष्यमा भारत, श्रीलङ्का, भूटान, म्यान्मारलगायत मुलुकसँग दुईतर्फी क्षेत्रीय पर्यटन प्रर्वधन गर्ने उद्देश्य राखेको उनले जानकारी दिए ।

परिषद्का पूर्वअध्यक्ष एवम् कार्यक्रम संयोजक टीकाराम सापकोटाले भौगोलिक दूरीका हिसाबले २७ किलोटिर टाढा रहेको बङ्गलादेशसँग नेपालले साझेदारीमा आर्थिक समृद्धिका लागि धेरै कार्य गर्न सक्ने जानकारी दिए । उनले कोरोनापछि दुई देशबीचको नेटवर्किङका लागि भएको यस कार्यक्रमले आगामी दिनमा दुई देशबीच पर्यटन प्रर्वधन लगायत व्यवसायिक साझेदारीमा काम गर्न सकिने बताए । कार्यक्रममा यहाँका पर्यटन व्यवसायी र सरोकारवालाको सहभागिता थियो ।

रासस

कमेन्टहरु
Loading...