नेपाल प्रहरीका नायब निरीक्षक (सई) मनबहादुर धितालले प्रधानमन्त्रीको फेसबुक दुरुपयोग गरेका छन् । ‘शेरबहादुर देउवा’ नामको भेरिफाइड फेसबुक एकाउण्टबाट धितालले ‘इन्फ्रन्ट अफ शेख प्यालेस दुबई’ लेखेर आफ्नो फोटो पोष्ट गरेका छन् । उनले सो पोष्ट केहीबेरमा हटाएका थिए । पोष्ट हटेपनि मुलुकको कार्यकारी प्रधानमन्त्रीको आधिकारीक फेसबुक पेज एक प्रहरी अधिकृतले सञ्चालन गर्नु असामान्य विषय बनेको छ ।
विभिन्न कार्यक्रममा जाँदा प्रधानमन्त्रीको गतिविधि अपडेट गर्न सजिलो होस् भनेर धिताललाई देउवाको फेसबुक पेजको पहुँच दिइएको थियो । ‘यो मानवीय त्रुटी हो । उहाँलाई प्रधानमन्त्रीका कार्यक्रमको फोटो हाल्न एक्सेस दिएकोमा भूलवश आफ्नो फोटो पोष्ट भएछ’, यसमा प्रधानमन्त्री स्वयं, सचिवालय र प्रहरी प्रशासन दोषी देखिन्छ’, प्रधानमन्त्रीको फेसबुक दुरुपयोगबारे एक उच्च सरकारी अधिकारीले भने ।
स्रोतका अनुसार सई धिताल एक दशकदेखि देउवाको सुरक्षा टोलीमा छन् । देउवा प्रधानमन्त्री हुनुपूर्व पनि उनी देउवाकै टिममा थिए ।