प्रधानमन्त्रीद्वारा मोहम्मद दिवसको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम धर्मावलम्बीको पर्व मोहम्मद दिवसले नेपाली राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

दिवसका अवसरमा आज शुभकामना सन्देश दिदै प्रधानमन्त्री देउवाले मोहम्मद पर्वले सबै समुदायबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धिमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना पनि गरेका छन् । प्रधानमन्त्री देउवाले मोहम्मद दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

“महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै सबैले आफू र आफ्नो परिवारलाई सुरक्षित राखी कोभिड–१९ विरुद्धका स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सामाजिक दूरी कायम गरी हर्षोल्लासपूर्वक यो दिवस मनाउन प्रधानमन्त्रीले सबैमा अनुरोध पनि गरेका छन्। नेपालसहित विश्वभरका मुस्लिम धर्मावलम्बीको धर्म प्रवर्तक पैगम्बर मोहम्मद सल्लल्लहू अलैही वसल्लम जन्म दिन अर्थात् मोहम्मद जयन्ती (मोहम्मद दिवस) यो वर्ष आज पर्न गएको छ ।

कमेन्टहरु
Loading...