पोखरा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)गण्डकी प्रदेशको आयोजनामा जिल्ला प्रतिनिधीहरु मानवअधिकार प्रलेखिकरण, पैरबी र डिजिटलाइजेशनका विषयमा दुई दिने तालिम पोखरामा सुरु भएको छ ।
तालिमको उद्धघाटन गर्दै इन्सेक अध्यक्ष डा.इन्दिरा श्रेष्ठले नेपाल पक्ष राष्ट्र भएका महासन्धीसंग रहेर इन्सेकले आफ्नो अभियानलाई अगाडी बढाइरहेको बताइन् ।
इन्सेकको मानवअधिकार अभियानको महत्वपूर्ण खम्बाको रुपमा जिल्ला प्रतिनिधीहरु रहेको बताउँदै उनले दुई दिनको तालिमबाट जिल्ला प्रतिनिधीहरुमा मानवअधिकार प्रलेखिकरण, अनुमगनका विषयमा धेरै बुझ्ने र सिक्ने अवसर मिल्ने अपेक्षा राखेको बताइन् ।
इन्सेक पूर्व महासचिव डा कुन्दन अर्याल प्रभावकारी ढंगबाट मानवअधिकारका सवालहरुलाई अभिलेखिकरण गर्न सकिन्छ भन्नेबारे तालिम केन्द्रीत रहने बताए ।
उनले तालिममा मानवअधिकारको आधारभूत विषय,मानवअधिकारका अन्तराष्ट्रिय सन्धी , मानवअधिकार प्रलेखिकरण साथै समाचार सम्प्रेषणका विषयमा छलफल हुने जानकारी दिए ।
इन्सेक मानवअधिकार पैरवी तथा प्रलेख प्रमुख श्रीराम बजगाईले मानवअधिकारको प्रलेखिकरण र अनुमगनलाई प्रभावकारी बनाउने उद्धेश्यले जिल्लामा कार्यरत प्रतिनिधीहरुलाई तालिमको आयोजना गरिएको जानकारी दिए ।
उनले इन्सेकले मानवअधिकार मैत्री शासन , प्रशासन र राज्य स्थापित गर्नका लागि भुमिका केन्द्रित रहने बताए ।
इन्सेक बाग्मती प्रदेशका संयोजक कृष्ण गौतमले तथ्य र तथ्यांकमा आधारित रहेर मानवअधिकारको पक्षमा काम गर्दै आएका कारण इन्सेकको विश्वसनियता बढेको बताए ।
उनले समयक्रम अनुसार मानवअधिकारका विषयमा परिर्वतन आएको बताउँदै अब आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारका सवालमा प्रलेख र पैरवीमा भुमिका केन्द्रित गर्न आवश्यक रहेको बताए ।
इन्सके गण्डकी प्रदेश संयोजक इन्सेकको बलियो र महत्वपूर्ण पाटो भनेको पीडितहरु सम्म नै पुग्ने उनीहरुका आवाजलाई उठाउँदै न्यायको पक्षमा बकालतमा जिल्ला प्रतिनिधिहरुको क्रियाशिल भुमिका रहनुपर्ने बताए ।
तालिममा गण्डकी र बाग्मती प्रदेशका जिल्ला प्रतिनिधिहरु सहभागि रहेका छन् ।