बढ्यो जाडो,जाडोकै कारण उडानमा समस्या, गाउँले जनजीवन प्रभावित, शहरमा पनि समस्या

पोखरा, २७ पुस/सँधै स्कुटरमा हुँईकिने तनहुँ दुलेगौँडाका रञ्जना थापा पछिल्लो समय अत्याधिक जाडो बढेपछि यताउती जानको लागी नगर बस चढ्न थालेकी छन् । मिस मगर २०१२ की विजेता समेत रहेकी रञ्जनालाई दिन दिनै पोखरा आउने जाने गर्नुपर्छ । फेशन डिजाईनिङ सम्बन्धि कलेज आईईसीमा अध्ययनरत उनलाई स्कुटरको यात्रा निकै सहज लाग्छ, ‘तर के गर्नु बिहान बिहान आउँदा पुरै चिसो हुन्छ र साँझ फर्कदा पनि उस्तै चिसो, त्यसैले जाडो महिनामा मैले स्कुटर नचढ्ने निर्णय गरेँ ।’ उनले भनिन् ।

पोखरा र आसपासमा केहि दिन यता जाडो हर्लक्कै बढेको छ । मौसम नै जाडोको भएपनि पछिल्ला केहि दिनहरुमा अत्याधिक नै जाडो भएको सर्वसाधारणहरुले महशुस गरेका छन् । पोखरामा जाडो बढेसंगै मानिसहरुको दैनिकिमा समेत केहि परिवर्तन आएको छ । जाडो बढेकै कारणले स्कुल र कलेजहरुले यो समयमा विद्यार्थीहरुको सजिलोको लागी जाडो बिदा पारेका छन् ।

प्राप्त समाचारहरुलाई आधार मान्ने हो भने काठमाण्डौको न्यूनतम तापक्रम माईनसमा झरेको छ । काठमाण्डौमा मंगलबारको न्यूनतम तापक्रम माईनस १ दशमलब १ डिग्री सेल्सियस मापन भएको छ । तराईका विभिन्न ठाउँमा चिसोकै कारणले कति जनाले ज्यान गुमाईरहेका छन् । उच्च हिमाली भेगका बासिन्दाहरु चिसो बढेलगत्तै शहरतिर झरिसकेका छन् । पोखरामा पनि पछिल्लो समय जाडो अत्याधिक बढेको स्थानियबासीहरु बताउँछन् । विहान र बेलुकाको समयमा जाडोले गर्दा मानिसहरु निकै कम मात्र सडकमा आउने गरेका छन् । विहान विहान मर्निङ वाकका लागी जानेहरुको भीड पनि पछिल्लो समय पातलिँदै गएको छ ।

पोखराको हावापानी कार्यालयले दिएको जानकारी अनुसार मंगलबार पोखराको न्यूनतम तापक्रम ४ दशमलब ८ डिग्री सेल्सियस रह्यो । पोखरामा जाडो दिनप्रतिदिन बढ्दै गएको छ । जाडोसंगै पोखरामा विहान बाक्लो हुस्सु समेत लाग्ने गरेको छ । बाक्लो हुस्सु लागेकै कारण भिजिविलिटी नहुँदा मंगलबार जोमसोमको लागी उडान हुन सकेन । हुस्सुकै कारणले काठमाण्डौँको उडान पनि ११ बजेपछि मात्रै भएको विमानस्थल स्रोतले जनाएको छ । ‘यो सिजनमा हुस्सुको कारणले उडान रोकिईरहने हुन्छ ।’ पोखरा विमानस्थलका प्रमुख प्रतापबाबु तिवारीले भने–‘जाडोकै कारणले अहिले मनाङको उडान हुन सकेको छैन ।’ मनाङको लागी हप्ताको दुई पटक उडान हुँदै आएको थियो । त्यस्तै हप्ताको एउटा मात्र उडान रहेको जुम्लाको लागी पनि जाडोको कारण उडानमा समस्या देखिँदै आएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

कास्कीको अत्याधिक जाडो हुने क्षेत्र मानिने लुम्लेमा जाडोकै कारण जनजीवन प्रभावित बनेको छ । लुम्लेका स्थानियबासी केशव पौडेलले दिएको जानकारी अनुसार लुम्लेमा केहि दिन यता दिउँसो पनि राम्ररी घाम लागेको छैन । ‘अघिपछिको भन्दा निकै चिसो महशुस भएको छ ।’ उनले भने–‘पानी परेको खण्डमा हिउँ झरिहाल्ने जस्तो मौसम देखिएको छ ।’ कास्कीका उत्तरी गाविसहरुमा समेत जाडोको कारणले जनजीवन प्रभावित बनेको छ ।

जाडोको बेलामा शहरी क्षेत्रमा न्यानोको लागी हिटर, एसी जस्ता सामाग्रीहरु प्रयोग गरिने भएपनि एकाएक बढेको लोडसेडिङले सर्वसाधारणहरुलाई अझै जाडो माथि जाडो थप्ने काम गरेको छ । यद्यपी बेलाबेलामा आउने बत्तिको सदुपयोग गर्दै सामाजिक संजाल प्रयोगकर्ताहरुले आफ्नो दुख संजालमार्फत पोखिरहेका छन् । जाडोले समस्यामा पारेपनि कुनै कुनै फेसबुक प्रयोगकर्ताहरुले आफ्नो वालमा यसरी लेखेका छन्, ‘सरकार कि आगो ताप्नलाई दाउरा देऊ, होईन भने बिजुली देऊ’

कमेन्टहरु
Loading...