चीनमा एमबिबिएस गरेका विद्यार्थीहरू पुनः समस्यामा

काठमाडाँै, २७ पुस । चीनका विभिन्न विश्वविद्यालयमा चिकित्सा शास्त्रको स्नातक तह (एमबिबिएस) को सैद्धान्तिक विषय उत्तीर्ण गरेका तर इन्टर्नसिप पूरा नगरेका विद्यार्थीहरू पुनः समस्यामा परेका छन् ।
सन् २००८ को असोज÷कात्तिक महिनामा चीनका विभिन्न विश्वविद्यालयमा सो विषय अध्ययन गर्न गएका विद्यार्थीहरूले सैद्धान्तिक विषय उत्तीर्ण गरेपनि नेपालमा इन्टर्नसिप गर्न नपाएपछि उनीहरू समस्यामा परेका हुन् ।

ती महिनामा करिब १२८ विद्यार्थी एमबिबिएस अध्ययनका लागि चीन पुगेका बताइएको छ । नेपाल मेडिकल काउन्सिलले इन्टर्नसिप गर्न अनुमति नदिएपछि आफूहरू समस्यामा परेका पीडितहरूको गुनासो रहेको छ ।

उनीहरूले सन् २००८ को फागुन र चैत महिनामा अध्ययनका लागि विद्यार्थीलाई नेपालमा इन्टरसिप गर्न अनुमति दिएको तर आफूहरूलाई नदिएको गुनासो गरे । काउन्सिलले जुन अध्ययन संस्थानले एमबिबिएस अध्ययन गराउने हो सोही संस्थाले अनिवार्य इन्टर्नसिपको व्यवस्था गर्नुपर्ने भन्दै सन् २००७ मे ७ बाट नेपालमा इन्टरसिप गर्न नपाइने नियम जारी गरेको थियो ।

पीडितहरूले के कारणले सन् २००८ को असोज र कात्तिक महिनामा अध्ययन गर्न गएका विद्यार्थीलाई इन्टर्नसिप गर्न नदिने भन्ने प्रश्नसमेत गरेका छन् । इन्टर्नसिपको माग गर्दै पीडित विद्यार्थीहरूले ढाकाकुमार श्रेष्ठ अध्यक्षतामा एक समूह गठनसमेत गरेका छन् ।

सो समूहले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोलाई भेट गरी आफ्ना मागबारे ध्यानाकर्षण गराएका थिए । सो अवसरमा मन्त्री महतोले जायज मागलाई पूरा गर्न तुरुन्त परिषद्को बैठक राख्ने जानकारी दिनुभएको थियो । श्रेष्ठले परिषद्को नियम लागु गर्नुभन्दा पहिला आफूहरू अध्ययन गर्न चीन गएकाले इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्नुभयो । उहाँले आफूहरूका माग पूरा नभए चरणबद्ध आन्दोलन समेत गर्ने बताउनुभयो । रासस

कमेन्टहरु
Loading...