काठमाडौ, २३ माघ/एमालेले कांग्रेससँग सत्ता साझेदारीको लागि गृह र अर्थ मन्त्रालय मागेको छ। कांग्रेसले भने विगतदेखिकै परम्परा अनुसार यी दुई मन्त्रालय प्रधानमन्त्रीसँगै रहनुपर्ने अडान राखिरहेको छ। माधवकुमार नेपालले सरकारको नेतृत्व गर्दा समेत गृह र अर्थ मन्त्रालय एमालेलाई नै छाडिदिएको तर्क कांग्रेसले अघि सारिरहेको छ।
‘कांग्रेससँग विभिन्न चरणमा सत्ता साझेदारीको कुरा भइरहेको छ,’ एमाले स्रोतले भन्यो, ‘कांग्रेसले गृह र अर्थ आफैसँग राख्न खोजेकाले कुरा नमिलेको हो ।’ कांग्रेसबाट रामशरण महत तथा दीपकुमार उपाध्याय र एमालेबाट उपाध्यक्ष वामदेव गौतम र सचिव विष्णु पौडेल सम्मिलित टोलीले विभिन्न चरणमा वार्ता गरिरहेको छ।
स्रोतका अनुसार कांग्रेसले प्रधानमन्त्रीलाई सरकार संचालनको सप्ठेरोका लागि अर्थ र गृह चाहिने तर्क अघि सारिरहेको छ। एमाओवादी अध्यक्ष प्रचण्डले कटवाल प्रकरणमा राजिनामा दिएपछि कांग्रेस, एमाले र केही दलको गठबन्धन सरकार बन्यो। तेस्रो पार्टीका नेता नेपाल प्रधानमन्त्री बन्दा पनि कांग्रेसले किचलो गरेन। ‘अहिले विशेष परिस्थिति भएकाले हामीले गृह र अर्थ माग गरेका हौं,’ ती एमाले नेताले भने, ‘राष्ट्रपतिरउपराष्ट्रपतिको पुननिर्वाचनको अडान पनि हामीले छाडेका छैनौं ।’कांग्रेसको बुझाइ भने राष्ट्रपतिरउपराष्ट्रपतिको निर्वाचनको कुरा गृह वा अर्थ मन्त्रालय हात पार्नलाई हो।
कांग्रेस–एमाले सत्ता साझेदारीमा विगतदेखि नै यी दुई मन्त्रालय तानातान हुने गरेको छ। एमालेबाट वार्ता समितिमा रहेका गौतम उपप्रधान र अर्थ मन्त्री हुन इच्छुक छन्। ‘त्यसैले गृह मन्त्रालय जसरी पनि लिने भन्ने मानसिकता बामदेवजीको देखिएको छ,’ कांग्रेसका एक नेताले भने।