घलेलमा क्यान्योनिङ तालिमको तयारी

पोखरा, २२ माघ/कास्कीको पर्यटकीय गाउँ घलेलको कुदिछहरामा क्यान्योनिङको सफल परीक्षण भएपछि स्थानीय युवाहरूले तत्सम्बन्धी प्रारम्भिक तहको तालिम सञ्चालन गर्ने तयारी गरेका छन् । साहसिक खेल क्यान्योनिङको विकास र विस्तार गरी घलेलगाउँको पर्यटन प्रवद्र्धन गर्न तालिम सञ्चालन गरिन लागेको स्थानीय बौद्ध सिर्जना युवा क्लबका अध्यक्ष रामबहादुर गुरुङले बताए ।

माघ २६ देखि फागुन १ गतेसम्म सञ्चालन हुने पाँच दिने तालिमा क्यान्योनिङ खेलप्रति रुची राख्ने साहसिक र टे«किङ व्यवसायसँग सम्बन्धित व्यक्तिहरूलाई प्राथमिकता दिइने अध्यक्ष गुरुङले बताए । तालिमका सहभागीहरूलाई अमेरिकन क्यान्योनिङ एकाडेमीका प्रशिक्षक रिच कार्लसनको टोलीले प्रशिक्षण दिने छन् । तालिमका कार्लसनको तीन सदस्यी टोली नेपाल आइसकेको आयोजकले जानकारी दिएको छ ।

पोखरामा क्यानोनिङ शुरु
पोखरामा क्यानोनिङ शुरु

तालिममा नेपाल क्यान्योनिङ एशोसियशनले प्राविधिक सहयोग गर्ने भएको छ भने नेपाल पर्यटन बोर्ड, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ट्रेकिङ एजेण्ट एशोसियशन नेपाल, ल्वाङघलेल गाविस लगायतका संस्थाले व्यवस्थापकीय सहयोग गर्ने भएका छन् ।

यसअघि माघ १५, १६ र १७ गते स्थानीय कुदिछहरामा क्यान्योनिङको परीक्षण र अभ्यास र १८ गते अभ्यास खेल प्रदर्शन गरिएको थियो । स्थानीय युवा समाजसेवी रामबहादुर गुरुङको नेतृत्वमा करीब २२ जना युवाले क्यान्योनिङ खेलेका थिए । डोरीको सहायताले ठूला र डरलाग्दो झर्नाबाट झर्ने खेल नै क्यान्योनिङ हो ।

पर्यटकीय साहसिक खेलका रूपमा विकास हुँदै आएको यो खेल नेपालका भोटेकोशी, सुनकोशी, काठमाण्डौंको ककनीलगायतका सीमित स्थानमा मात्र खेलिन्छ । पोखराबाट करीब १४ किलोमिटरको दुरीमा सुदूर उत्तरक्षेत्रमा रहेको कुदिछहरा क्यान्योनिङ खेलका लागि उपयुक्त भएपछि पर्यटन व्यवसायीहरू थप उत्साहित भएका छन् ।

कमेन्टहरु
Loading...