पोखरा – दिल्ली नयाँ बस सेवा

गोकुल बानियाँ ÷सागरराज तिमल्सिना
पोखरा २१ माघ । पोखराबाट भारतको राजधानी नयाँदिल्लीको लागि नयाँ बस सेवा सञ्चालन हुने भएको छ । नवल टुर्स एण्ड ट्राभल्स प्रालिले फागुन ५ गतेबाट पोखरा– दिल्ली बस सञ्चालनमा ल्याउन लागेको हो । यसअघि मोर्डन ईरा ट्राभल एण्ड टुर्सले मात्र पोखराबाट भारतको राजधानी नयाँ दिल्ली सम्मको सिधा बस सेवा सञ्चालनमा ल्याएकोमा नवल टुर्स एण्ड ट्राभल्सले थप सुबिधा सहितका ५ वटा बस सञ्चालनमा ल्याउन लागेको हो ।

पोखरा – दिल्ली नयाँ बस सेवा
पोखरा – दिल्ली नयाँ बस सेवा

पाच वटा स्तरिय बस मार्फत हप्ताको तीन दिन सोमबार, बुधबार र शुक्रबार बस सञ्चालन गर्ने कम्पनीका प्रबन्ध निर्देशक धर्मराज अर्यालले जानकारी दिए । तत्कालको लागि २ वटा एसी सहितको डिलक्स र ३ वटा एसी बिनाको डिलक्स बस सञ्चालन गरिने उनले बताए । पोखराबाट भारतको राजधानी नयाँ दिल्ली स्थित मायापुरी सम्मको करिब ३० घण्टे यात्राको लागि डिलक्समा २६ सय र एसी सहितको डिलक्स बसमा ३२ सय रुपैया भाडादर कायम गरिएको कम्पनीका अध्यक्ष हेमन्त मल्लले बताए । यो भाडा दरमा खानेपानी उपलब्ध गराईने कम्पनीले जनाएको छ । सञ्चालन सुभारम्भको अबसरमा चैत्र मसान्त सम्म भाडादरमा १० प्रतिशत छुटको ब्यबस्था गरिएको मल्लले बताए ।

तीन दिनमा हप्ताको एक दिन एसी सहितको बस सञ्चालन हुने र दुई दिन एसी बिनाको डिलक्स बस सञ्चालन हुने कम्पनीले जनाएको छ । सबै बसमा एसी सुबिधा नभएपनि जाडोको समयमा भने सबैमा हिटरको सुबिधा प्रदान गरिने बताईएको छ । लामो यात्रा भएकाले बसमा दुई चालकको ब्यबस्था गरिएको छ । बस सञ्चालन हुने दिन पोखराबाट बिहान साढे ११ बजे छुट्ने बस नारायणगढ सुनौली हुदै भारतको मायापुरी सम्म पुग्नेछ । यात्रा अबधिभर मनोरञ्जनको लागि अडियो तथा भिडियोको ब्यबस्था गरिएको छ । भारतको टाटा कम्पनीको च्यासिस तथा पिएमआई कोचले निर्माण गरेको बडी सहितको बस ३५ सिट क्षमताको छ ।

बस सञ्चालनमा ल्याउन ११ जना ब्यबशायीले ५ करोड लगानी गरेका छन् । बस सेवा सञ्चालनको लागि हेमन्त मल्लको अध्यक्षतामा ७ सदस्यिय सञ्चालक समिति र २ जना सल्लाहाकार रहेका छन् । २०२६ कार्तिक ११ गते कम्पनी रजिष्टरको कार्यालय काठमाण्डौमा दर्ता भएको कम्पनीले पृथ्बी राजमार्ग बस सञ्चालक समिति मार्फत बस सञ्चालनमा ल्याउन लागेको हो । यसअघि मोर्डन ईरा ट्राभल एण्ड टुर्सले पनि दैनिक पोखरा–दिल्ली सिधा बस सेवा सञ्चालन गरिरहेको थियो ।

बिगत ७ बर्षदेखि पोखरा–दिल्ली बस सञ्चालनमा ल्याएको मोर्डन ईराले डेढ बर्ष अघि दैनिक सेवा दिन सुरु गरेको थियो । १८ वटा बस मार्फत सेवा दिईरहेको मोर्डन ईराले नयाँ कम्पनी भन्दा भिन्न रुट अर्थात् नेपालगञज हुदै नयाँदिल्ली सम्मको सेवा सञ्चालन गरिरहेको अध्यक्ष केशब अधिकारीले बताए । पोखराबाट नेपालगञ्ज नाका हुदै नयाँ दिल्ली २४ घण्टामा पुगिने भएको मोर्डनको भाडादर पनि केहि कम रहेको छ । मोर्डन ईराले नन एसि बसको २६ सय र एसी सहितको बसको ३ हजार भाडादर तोकेको छ ।

कमेन्टहरु
Loading...