भद्रकालीको ६३ औं वार्षिकोत्सव, कृषि क्याम्पस संचालनको तयारी

पोखरा, २१ माघ ः पोखराको कुँडहरमा रहेको भद्रकाली उच्च माविको ६३ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा विविध सम्मान कार्यक्रम मंगलबार सम्पन्न भएको छ । विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा उत्कृष्ठ विद्यार्थी, शिक्षक तथा चन्दादाता, अक्षयकोषदाता र अन्य सहयोगीहरुलाई सम्मान गरिएको थियो । कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित संविधानसभा सदस्य शारदा पौडेल, कास्कीका जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुईंटेल, उच्च माध्यमिक शिक्षा परिषद् पश्चिमाञ्चल सम्पर्क कार्यालयका प्रमुख रमेशप्रसाद अधिकारीको उपस्थितिमा वार्षिकोत्सव सम्पन्न भएको हो ।

सो अवसरमा प्रधानाध्यापक घनश्याम रिजालले शैक्षिक तथा आर्थिक प्रतिवेदन पेस गर्दै भद्रकाली सामुदायिक विद्यालयमध्ये कास्कीमै उत्कृष्ठ हुन सफल भएको दाबी गरे । गत वर्ष ९० जना विद्यार्थी एसएलसीमा सहभागी भएकोमा पाँच जना विशिष्ट श्रेणीसहित ७४ विद्यार्थी उर्तीर्ण भएका थिए । भद्रकालीमा अहिले नर्सरी देखि उच्च मावि तहसम्म गरी दुई हजार चार सय ४३ विद्यार्थी अध्ययनरत रहेको र एक सय ३१ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको रिजालले बताए ।

भद्रकाली स्कुल
भद्रकाली स्कुल

विद्यालयको नाममा खोलाखेतमा रहेको जग्गा यसैवर्षदेखि पाँच वर्षको लागि भाडामा लगाइएको र त्यसबाट वार्षिक रुपमा दुई लाख १५ हजार आम्दानी हुने उनले जानकारी दिए । सो जग्गामा आगामी दिनमा त्रिभूवन विश्वविद्यालय पशु तथा कृषि अध्ययन संस्थान रामपुरसंग सम्बन्धनका लिएर कृषि विषयका कक्षा संचालनको तयारी भइहरेको उनले बताए । सो अवसरमा शिक्षकहरु लोकचन्द्र खनाल, यदुराज पंगेनी, लक्ष्मीप्रसाद अर्याल, किरणराज घिमिरे, कृष्ण महत, घनश्याम रिजाल, खगेन्द्रप्रसाद अर्याल, उपेन्द्र सुवेदी, सुमन गौतमलगायतका शिक्षकलाई सम्मान गरिएको थियो । यसैगरी, शिक्षकहरु सावित्री पौडेल, किरण भाट क्षेत्री, माधवप्रसाद आचार्य, लेखापाल सरोज श्रेष्ठ र कार्यालय सहयोगी केशरमान खड्कालाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा संविधानसभा सदस्य शारदा पौडेलले पोखरा मात्र नभएर समग्र कास्कीको शिक्षाको विकासको लागि भद्रकाली उमाविको योगदान उल्लखनीय रहेको भन्दै यसको विकासको लागि आफू सघाउन तयार रहेको बताइन् । शिक्षा केवल शिक्षाका लागि मात्र नभएर जीवनोपयोगी हुनुपर्नेमा जोड दिंदै उनले विद्यार्थी, शिक्षक र अभिभावकको सामूहिक प्रयासबाट गुणस्तरी शिक्षा सम्भव भएको बताइन् । जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुईंटेलले अहिले सामुदायिक विद्यालयहरुमा विद्यार्थी घटिरहे पनि भद्रकालीमा भने उच्च संख्या रहेकोमा खुसी ब्यक्त गरे ।

सरकारी लगानी अनुसार शिक्षामा उपलब्धी हुन नसकेको गुनासो आइरहेका बेलामा समाजका सचेत नागरिकको चेतनाका कारण शिक्षकहरु जिम्मेबार हुँदै गएको उनको धारणा थियो । अब आगामी दिनमा एसएलसीमा सत प्रतिशत नतिजा ल्याउने गरी मेहनत गर्न उनले आग्रह गरे । उच्च मावि शिक्षा परिषद् सम्पर्क कार्यालय पोखराका प्रमुख रमेशप्रसाद अधिकारी मूल्याकंन प्रणाली, वार्षिक परीक्षाको नतिजा र अतिरिक्त क्रियाकलाप गुणस्तरीय शिक्षाको मापक रहेको बताए । सो अवसरमा भद्रकाली वहुमुखी क्याम्पसका प्रमुख किशोरदत्त बराल, अमरसिंह स्रोत केन्द्रका स्रोत ब्यक्ति विष्णु तिवारी, अक्षयकोषदाता, लक्ष्मण श्रेष्ठल, सहप्रधानाध्यापक राजेन्द्र भण्ढारीलगायतले शिक्षाको विकासको बारेमा बोलेका थिए । कार्यक्रमको बीचबीचमा विभिन्न तहका विद्यार्थीहरुले नृत्य र नाटकमार्फत पाहुनालाई मनोरञ्जन दिलाएका थिए ।

कमेन्टहरु
Loading...