गन्थन डट कम
पोखरा, २० माघ/कास्कीको अर्मला स्थित ठूलिबेशी फाँटमा विपत्ती रोक्न सरकारले पठाएको रकमबाट काम थालिएको छ । केन्द्रीय दैवि प्रकोप उद्धार समितिबाट १५ लाख रुपैयाँ आएकोमा सोही रकमबाट प्रारम्भिक काम थालिएको अर्मला दैवीप्रकोप विपत सरोकार तथा निर्माण सहयोग समितिका सचिव तथा प्रवक्ता रामप्रसाद पराजुलीले बताए ।
सरकारले पठाएको १५ लाख रुपैयाँ समितिमार्फत नै खर्च गरिने र अन्य सहयोग समेत समितिकै खातामा जम्मा गरेर काम अघि बढाइने उनले बताए । यसअघि जिल्ला विकास समितिले डोजर लगाएको खर्च दुई लाख ६६ हजार रुपैयाँ समेत त्यही १५ लाख रुपैयाँबाट कटाइएको छ । यसैगरी सरकारले दिएको रकमबाट ठूलो काम गर्नका लागि अपुग हुने भन्दै पीडितहरुले सहयोगको याचना गरेका छन् । पीडितहरुले देश विदेशमा बस्ने नेपालीहरुसंग सहयोगको लागि हात फैलाएको पराजुलीले बताए ।

सहयोगको लागि नेपाल बैँक लिमिटेड बगर शाखा, पोखरामा ०९१००००७९९०८ बचत खाता खोलिएको उनले बताए । पराजुलीका अनुसार, इच्छुक व्यक्तिहरु, संघसंस्थाहरुबाट आर्थिक सहयोग गर्न चाहेमा यो खातामा रकम जम्मा गर्न सक्नेछन् । प्राकृतिक प्रकोपलाई स्थायी रोकथाम गर्न आर्थिक संकट परेकोले स्वदेश तथा विदेशमा रहेका नेपाली तथा विभिन्न संघ संस्थाबाट सहयोगको अपेक्षा गरिएको उनले बताए । ठूलीबेशी फाँटमा मंसिर ५ गतेदेखि दिनहुँ भुवान पर्न थालेकोमा ७० घर खतरामा परेका छन् । तीमध्ये सात घरपरिवार त विस्थापित नै भइसकेका छन् ।
उनीहरु छिमेकी र आफन्तको घरमा शरण लिएर बस्दै आएका छन् । अब आउने वर्षायाम सम्म कुनै उपाय नखोजिए फाँटमा यो भन्दा ठूलो विपत्ति आइलाग्ने विज्ञ टोलीले सुझाउ दिइसकेको छ । अत्यधिक पानी पर्ने भएकाले त्यहाँका स्थानीयबासीहरु दिनहुँ चिन्तित हुँदै बाँच्नुपर्ने अवस्थामा रहेको पीडितहरुले गुनासो गरेका छन् । अर्मलामा हालसम्म एक सय सात वटा सानाठूला भुवान परेका छन् । परेका भुवानहरु पनि एक आपसमा जोडिँदै छन् ।
अर्मलाको प्राकृतिक विपद् अध्ययनका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिले अर्मलाको विपद् रोक्न तत्कालका लागि सात करोड ३४ लाख रुपैयाँ आवश्यक पर्ने बताएको छ । समितिले बुझाएको प्रतिवेदनमा अर्मलाको ठूलिबेशी फाटको भू–भौतिक सर्भे (जिओफिजिकल) पश्चात मात्र सो क्षेत्रको भूमिगत भौगर्भिक अबस्थाको बारेमा यथार्थ जानकारी हुने उल्लेख गरिएको छ ।
उक्त सर्भे पछि मात्रै सो क्षेत्रमा निर्माण कार्य सुरु गर्न र हालका लागि घर निर्माणलगायतका सम्र्पूण काम रोक्न, बढी पानी प्रयोग गरिनुपर्ने खेतीहरु गर्न निरुत्साहित गर्न सिफारिस गरिएको छ । यसैगरी सो फाँट भएर बग्ने दुहुनी तथा खहरे खोलाको अतिक्रमित भू–भागलाई नापीबाट रेखांकन गरी खोलाको स्थायी सिमाना कायम गर्ने र खेत क्षेत्रबाट बिगतमा बग्ने खोल्सी तथा नालाहरुलाई पूर्नस्थापना गर्नुपर्ने सुझाव पं्रतिवेदन मार्फत दिइएको छ ।